काठमाडौंः प्रहरीले विभिन्न ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरेको छ ।

रौतहटको दुर्गाभगवती गाउँपालिका–३ बाग्मती खोलास्थित काँसघारीभित्र कौडा खेलिरहेको अवस्थामा १४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख १६ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

यसैगरी, नवलपरासी(पूर्व) को देवचुली नगरपालिका–१६ बस्ने ४० वर्षीय कमल प्रसाद अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा अधिकारी समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई २३ हजार २ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १२ गते बुधबार, १४:५६