काठमाडौंः प्रहरीले विभिन्न ठाउँबाट नियन्त्रित लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ ।

नवलपरासी (पूर्व)को कावासोती नगरपालिका–१६ डण्डाबाट नियन्त्रित लागूऔषध ५२ एम्पुल फेनारगन, ५२ एम्पुल डाईजेपाम र ५२ एम्पुल नुर्फिन सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वतको कुस्मा नगरपालिका–८ बस्ने २१ वर्षीय अनिल परियार र सोही नगरपालिका–४ बस्ने २१ वर्षीय बबिन पुन रहेका छन् ।

लु २ ख २१३१ नम्बरको यात्रु बाहक बसलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा आएका उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कबाट नियन्त्रित लागूऔषध ३ सय ४५ ट्याब्लेट नाईट्राभेट र १ सय २० क्यापसुल ट्रमाडोल हाईड्रोक्लोराईड सहित सोही उपमहानगरपालिका–१९ बस्ने २५ वर्षीय देब बहादुर खड्कालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, रुपन्देहीको सिद्दार्थनगर नगरपालिका–१ वेलहीयाबाट नियन्त्रित लागूऔषध ३ सय ट्याब्लेट नाईट्राभेट, १ सय एम्पुल नुर्फिन, १ सय एम्पुल फेनारगन र १ सय एम्पुल डाईजेपाम सहित ओमसतिया गाउँपालिका–५ तरैणी बस्ने २२ वर्षीय मद्दर हरिजनलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्दा पेटमा टेपले बाँधी लुकाई ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १८ गते बिहीबार, १६:५६