काठमाडौंः विभिन्न ठाउँबाट पटाका सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको उर्लावारी नगरपालिका–८ दुर्गापुरी चोकबाट २ बोरा पटाका सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा दमक सब्जी बजार बस्ने ३५ वर्षीय प्रमोद कुमार शाह र मोरङ रंगेली नगरपालिका–७ साझाटोल बस्ने ५७ वर्षीय नन्दन किशोर शाह रहेका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले प्रदेश–१–०१–०१२ प ४८४२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटर चालक प्रमोद र स्कुटरमा सवार नन्दनले २ वटा बोरामा ल्याउँदै गरेको उक्त पटाका फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


यसैगरी मोरङको धनपालथान गाउँपालिका–३ भलुवाकादस्थित सडकबाट ९७ हजार ७ सय रुपैयाँ मूल्य बराबरको विभिन्न पटाका आज बिहान प्रहरीले बरामद गरेको छ ।

सिमा प्रहरी चौकी मायागञ्ज र बिओपी सोराभागबाट संयुक्त रुपमा गस्तीमा खटिएको प्रहरीलाई देखेर भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको उक्त पटाका छोडेर व्यक्ति फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह गाँउस्थित सडकबाट १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका बुधबार राति प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीलाई देखेर भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको उक्त पटाका अपरिचित व्यक्तिले सोही ठाउँमा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

झापाको भद्रपुर नगरपालिका–५ स्थित सडकबाट करिब ३ लाख रुपैयाँ मूल्य बराबरको पटाका बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याई लुकाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले फेला पारी उक्त पटाका बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २० बिहीबार, १५:३१