काठमाडौंः विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका–२९ हरिसिद्धि डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका–२ घर भएका २३ वर्षीय शम्भु राईलाई जबरजस्ती करणी गरेको आरोपमा आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शम्भुले एक महिलालाई जेठ २९ गते विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पर्वतमा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका–३ बस्ने ३२ वर्षीय रविन जिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।


जिसीले ती महिलालाई जेठ १५ गते जबरजस्ती करणी गरेको घटनाको अनुसन्धानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी अपराध मुद्दामा जिल्ला अदालत पर्वतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यसैगरी, बारामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा निजगढ नगरपालिका–११ रतनपुर बस्ने ५३ वर्षीय झनक बहादुर खड्कालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई २०७६ फागुन २५ गते राति जबरजस्ती करणी गरेको भन्ने पीडितले २०७७ असार ७ गते दिउँसो इलाका प्रहरी कार्यालय निजगढमा लिखित जाहेरी दिए पश्चात तत्काल खटिएको प्रहरीले खड्कालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः मंगलबार, असार ९, २०७७, ०७:०१