बाँकेः बाँके प्रहरीले विभिन्न हातहतियार सहित एक जनालाई आज दिउँसो पक्राउ गरेको छ ।

राप्ती सोनारी गाउँपालिका–५ जबरपुर बस्ने ६८ वर्षीय ऋषिराम थारुलाई दुईनाले १२ बोरको बन्दुक १ थान, भरुवा बन्दुक २ थान, १२ बोरको खोका ३८ वटा, काटेको गोली १२ वटा, बारुद १ केजी, फलामको नाल २ थान, चित्तलको सिङ ४ वटा र बदेलको दाँत १ वटा सहित प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले ऋषिरामको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही कार्यालयबाट खटिएको प्रहरीले ऋषिरामका भाइ लाल बहादुर थारुको घर तलासी गर्दा १ थान कटुवा पेस्तोल, थ्रीनटथ्री राईफलको गोली २ थान, एसएलआर राईफलको गोली १ थान र भरुवा बन्दुकको खाली नाल १ थान फेला पारी बरामद गरेको छ ।


हाल फरार लाल बहादुरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २९ गते शनिबार, १९:५७