डोल्पामा खेलकुद मैदानको अभावमा जुफालस्थित विमानस्थललाई खेलमैदानका रूपमा प्रयोग गरिएको छ । दसौं जिल्लस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि धावन मार्ग नै खेल मैदानमा परिणत गरिएको हो ।

चैत २५ गतेदेखि सुरु भएको उक्त खेल प्रतियोगिताका लागि अरू कुनै खेलकुद मैदान नभएपछि जिल्ला खेलकुद विकास समिति र ठूली भेरीको आदर्श माध्यमिक विद्यालयको अनुरोधमा विमानस्थलको धावनमार्ग नै खेल मैदान बनाइएको हो । सो खेल प्रतियोगिताको आयोजक ठूलीभेरीको आदर्श मावि हो ।

कानुनतः विमानस्थलमा कुनै पनि कार्यक्रम गर्न मिल्दैन तर हिमाली, दुर्गम जिल्ला र खेलकुद मैदान नहुँदा हवाई उडान नभएको समय दिउँसो १२ बजेपछि धावनमार्गमा क्षति नपुरयाउने सर्तमा दौड सञ्चालन गर्न दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरण जुफालका निमित्त प्रमुखले बताए ।


देशकै ठूलो जिल्ला डोल्पामा सरकारले कुनै पनि राष्ट्रिय स्तरका खेल सञ्चालन गर्न सकिने खेल मैदान निर्माण गर्न त सकेन नै जिल्लास्तरीय खेल सञ्चान गर्न सकिने खेल मैदान पनि बन्न नसक्दा यहाँका विद्यालय विमानस्थलको धावनमार्ग प्रयोग गर्न बाध्य भएका छन् । यस्तो अवस्थामा जिल्ला स्तरीय खेलकुद कसरी सम्भव होला ? यसले जिल्लामा रहेका खेल क्षेत्रका प्रतिभाहरू खुम्चिएर बस्नुपर्ने बाध्यता छ । यो स्थिति अब पनि रहिरहनु विडम्बना नै मान्नुपर्छ । प्रदेशदेखि केन्द्र सरकारले यतातिर सोच्नु आवश्यक छ ।