काठमाडौंः विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा चौदण्डीगढी नगरपालिकालाई ६–० ले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो ।

विराटनगरका लागि अनु राईले दुई तथा ईमा राई, मनिषा थापा मगर, कुशुम खतिवडा र पार्वती घलेले एक एक गोल गरे ।

खेलको २१ औं मिनेटमा अनुले गोल गर्दै विराटनगरलाई अग्रता दिलाइन् । ३६ औं मिनेटमा अनुले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई २–० को अग्रता दिलाइन् । ३९ औं मिनेटमा ईमाले गोल गर्दै विराटनगरलाई ३–० को अग्रता दिलाइन् । ४३ औं मिनेटमा मनिषाले गोल गर्दै विराटनगरलाई ४–० को अग्रता दिलाइन् ।


त्यस्तै, ८२ औं मिनेटमा कुशुमले गोल गर्दै विराटनगरलाई ५–० को अग्रता दिलाईन् । ८३ औं मिनेटमा पार्वतीले गोल गर्दै विराटनगरलाई ६–० को विजयी दिलाइन् ।

जितसँगै विराटनगर तेस्रो स्थानमा उक्लिएको छ । विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ । ४ खेलमा अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १७ गते शनिबार, १५:१९