काठमाडौंः इजलास कम हुँदा विशेष अदालतमा मुद्दा व्यवस्थापनको चाप परेको छ । विशेष अदालतमा अहिले करिब पाँच सयमा मुद्दा छन् । दैनिक रुपमा नियमित दुई इजलास मात्र बस्ने गरेको छ । त्यसमा पनि अधिकांश समय थुनछेककै क्रममा बित्ने गरेको छ ।

इजलास व्यवस्थापनका लागि नै अदालतले बहुचर्चित ललिता निवास जग्गा प्रकरण मुद्दाका प्रतिवादीलाई चरणबद्ध रुपमा अदालतमा उपस्थित हुन आउने म्याद जारी गरिरहेको छ । मुद्दा दर्ता भएको करिब एक महिना बिते पनि सबै प्रतिवादीलाई म्याद पठाइएको छैन् ।

विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काले इजलास व्यवस्थापनमा सहजताका लागि चरणबद्ध रुपमा म्याद पठाइएको जानकारी दिए ।


। खड्काले भने, ‘‘अहिले करिब पाँच सय हाराहारीमा मुद्दा छन् । ठूला विषय र धेरै प्रतिवादी भएका मुद्दा पनि थुप्रै छन् । लगतमा एक थान भए पनि त्यस्ता मुद्दामा प्रतिवादीको बयान, थुनछेक लगायतमै धेरै समय जान्छ ।’’

इजलास व्यवस्थापनका लागि ललिता निवास प्रकरणमा पनि चरणबद्ध रुपमा उपस्थित हुने म्याद पठाइएको हो । सजाय दाबीसमेत गरिएका ११० प्रतिवादी र जग्गा जफत मात्र गर्न माग गरिएका ६५ प्रतिवादीलाई क्रमिक रुपमा म्याद जारी गरिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २०, ०७:१७