काठमाडौं: जेठ ३१ गते बिहीवार रातीदेखि रसियामा हुन लागेको विश्वकपको लागि राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरीले जनाएको छ।

विश्वकप हर्नेको लागि राजधानीका विभिन्न सार्वजनिक स्थानमा प्रोजेक्टर राखेर खेल देखाउने भएकाले त्यस्ता स्थानहरुमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले बताएका छन् ।

उनका अनुसार, राति अबेर सम्म मदिरा सेवन गरी होहल्ला गर्ने, विश्वकपको बहानामा अन्य अनैतिक क्रियाकलाप, अवाञ्छित गतिविधि गर्ने, बाजी लगाउनेलगायतका कार्यमा संलग्नलाई कडा कारबाही गरिने छ ।


रसियाको लुझनिकि स्टेडियममा भोलिदेखि सुरुहुने बिश्वकपमा ३२ राष्ट्रले भाग लिँदैछन् भने पहिलो खेल आयोजक राष्ट्र रसिया र साउदी अरेबियाबिच ८:४५ बजे हुदैछ।