काठमाडौं: बहुप्रतिक्षित विश्वकप फुटबल  सुरुहुन अब एकदिन मात्र बाँकी छ । विश्वकप नजिकिँदै गर्दा फुटबल प्रेमीहरु उत्साहित हुनुका साथसाथै यसले टोलटोलमा रमणीय वातावरण समेत सृजना गरेको छ । ४ वर्षमा एक पटक हुने विश्वकपले इतिहासदेखि नै फुटबल प्रेमीहरु बीच महत्व स्थान राख्दै आएको छ ।

विश्वकपको इतिहास

२८ मे १९२८ मा एम्स्टर्डयामममा भएको बैठकबाट फिफाद्वारा विश्वकप आयोजना गर्ने निर्णय गरिएको थियो । निर्णय भए पछि विश्वकप आयोजना कसले गर्ने भन्ने सन्दर्भमा विभिन्न देशहरुलाई उम्मेदवारी पेश गर्ने मौका दिइयो ।उक्त उम्मेदवारी पेश गर्न धेरै युरोपियन देशहरुले इच्छा व्यक्त गरेका थिए ।


। उरुग्वे, हंगेरी, इटाली, नेदरल्यान्ड्स, स्पेन र स्वीडेनले आफ्नो उम्मेदवारी पेश गरे।

ओलम्पिकको फुटबल खेलमा पछिल्लो दूई पटक उरुग्वेले स्वर्ण जित्नुका साथसाथै उरुग्वेले धेरै खर्च गर्ने र आफ्नो १००औं स्वतन्त्रताको  वर्षगांठ मनाउन लागेकाले उरुग्वेमा विश्वकप आयोजना हुनु पर्ने माग राखेको थियो । यसबाहेक उरुग्वेको राष्ट्रिय सङ्गठनले सहभागी टोलीहरूको यात्रा र आवासको समेत सबै खर्चहरू बेहोर्न इच्छा देखाएको थियो भने घाटा लागेमा आफू जिम्मेवार हुने र आएको सम्भावित नाफा चाँही बाँड्ने भनेर प्रस्ताव अघि सरेको थियो। उरुग्वेको तर्कहरू निर्णायक मानिए पछि १९२९ मा बार्सिलोनामा भएको फिफा कांग्रेसले उरुग्वेलाई पहिलो फिफा वर्ल्डकप आयोजक देशका रूपमा चयन गर्‍यो।

युरोप आर्थिक संकटमा गुज्रिरहेको हुँदा सबै योजना निर्धारित समय अनुसार भने स‌ंचालन हुन सकेन। लामो समुद्री यात्रा पार गर्नुपर्ने, क्लबहरूले लामो समयका लागि आफ्ना उत्कृष्ट खेलाडीलाई त्याग्नुपर्ने जस्ता समस्याका कारण धेरै संघले भाग लिनका लागि दिएको वचन तोडे र चार युरोपेली टिमहरु फ्रान्स, बेल्जियम, रोमानिया र युगोस्लाभिया मात्र सहभागी भए।

१८ जुलाई १९३० मा पहिलो फिफा विश्व कप उरुग्वेको मोन्टेभिडियोको नयाँ स्टेडियम एस्टयाडीयो सेन्टिनयारियोमा खोलिएको थियो। ऊरुग्वे र अर्जेन्टिना पहिलो विश्वकपको फाइनलमा पुग्न सफल भए जहाँ पहिलो हाफमा अर्जेन्टिना तथा दोस्रो हाफमा उरुग्वेको बल खेलाइएको थियो। उक्त खेलमा उरुग्वेले अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको थियो।

यो विश्व फुटबलको एक नयाँ युगको सुरुवात थियो र उद्घाटन कार्यक्रमले खेलकुद र आर्थिक पक्षमा उल्लेखनीय सफलता हासिल गर्‍यो। तर, आयोजकहरू चार युरोपेली राष्ट्रले मात्र भाग लिएकोमा निराश भए। ४ वर्ष पछिको दोश्रो विश्वकपमा उही रिसका कारण उरुग्वेले विश्वकपमा भाग लिन मानेन ।

फिफाले दोस्रो विश्वकप आयोजना गर्ने अवसर इटालीलाई दियो। यसपटक १६ टोली छान्नका लागि क्वालिफाइङ खेलहरू खेलाइएको थियो। १९३० मा विश्वकप पहिलोपटक नकआउट राउन्डमा खेलाइएको  थियो। जसबाट ब्राजिल र अर्जेन्टिना एक मात्र खेल खेलेर घर फर्किए। एक पटक फेरि, घरेलु टोली उपाधी जित्न सफल भयो। इटालीले चेकोस्लोवाकिया विरुद्ध अतिरिक्त समयमा विजय हासिल गर्यो। इतिहासमै पहिलो पटक फाइनल खेल रेडियोबाट प्रसारण गरिएको थियो।

फिफा अध्यक्ष जुलिस रिमेटको सपना तब पुरा भयो जब तेस्रो फिफा विश्वकप उनकै देश फ्रान्समा गरियो। यसपटक इटलीले सफलतापूर्वक उपाधीको रक्षा गर्‍यो। यसरी विश्वकप चर्चा हुँदै गयो र हरेक ४ वर्षमा यसको आयोजना हुँदै गएको छ ।

विश्वकप जित्ने राष्ट्र

हालसम्म आठ राष्ट्रले विश्वकप जितेका छन्। विश्वकप विजेताको सूचीमा ब्राजिल पाँच उपाधिसहित शीर्ष स्थानमा छ। यस्तै इटली र जर्मनीले चार पटक, अर्जेन्टिना र उरुग्वेले दुर्इ पटक विश्वकप  जितेका छन्। इङ्ग्ल्याण्ड स्पेन र फ्रान्सले समान १/१ पटक उपाधि जितेको छ। युरोपेली र दक्षिण अमेरिकी राष्ट्रबाहेक अरूले अहिलेसम्म विश्वकप जितेका छैनन्। जर्मनी, स्पेन र इटलीले पछिल्लो तीन प्रतियोगितामा विजयी भएपछि युरोपेली राष्ट्रले ११ पटक र दक्षिण अमेरिकी राष्ट्रले नौ पटक विश्वकप उपाधि जितेका हुन्।

सर्वाधिक गोल गर्ने खेलाडी

जर्मनीका मिरोस्लाभ क्लोज सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा छन्। क्लोजले विश्वकपमा सर्वाधिक १६ गोल गरेका छन्। ब्राजिलका रोनाल्डो कुल १५ गोलसहित दोस्रो स्थानमा छन्। उनले २००२ मा  ब्राजिलले विश्वकप जितेका खेलहरूमा आठ गोल गरेका थिए। फ्रान्सका जुस्ट फोंतेनलको नाममा एउटै प्रतियोगितामा सर्वाधिक गोल गरेको कीर्तिमान छ । १९५८ को विश्वकपका ६ खेलमा फोंतेनलले १३ गोल गरेका थिए।

विश्वकपका रोचक पक्ष

  • २१ औँ संस्करणको यस विश्वकपमा दुई राष्ट्रले डेब्यु गर्दैछन्। युरोपियन राष्ट्र  आइसल्याण्ड र सेन्ट्रल अमेरिकन राष्ट्रले पहिलो पटक विश्वकप खेल्न लागेका हुन्।
  • ४ पटकको पूर्व च्याम्पियन इटली यस पटक विश्वकपमा छनोट हुन सकेन।
  • मेक्सिकोका राफेल मार्केज लगातार पाँचै पटक विश्वकप खेल्ने टिममा छन्। उनले रसियामा विश्वकप खेले मेक्सिकोकै कार्भाजलको कीर्तिमान बराबरी गर्नेछन्।
  • विश्वकप विजेताले ६.१७५ केजीको विश्वकप ट्रपी उचाल्न पाउनेछन्।
  • रसियाको विभिन्न ११ शहरमा यस पटक विश्वकप आयोजना हुनेछ। यस पटक विश्वकपका खेलहरु रसियाको ११ रंगशालमा खेलाइनेछ।
  • रसिया विश्वकपका लागि प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीबाट सर्वाधिक १६ खेलाडी छनोट भएका छन्।
  • रसियामा विश्वकप खेल्ने टिममा परेका मध्ये सबैभन्दा कान्छा खेलाडी हुन् अष्ट्रेलियाका ड्यानिएल अर्जानी। सन् १९९९ मा जन्मेका अर्जानी १९ वर्ष ५ महिनाका भए। यसै गरी इजिप्टका कप्तान ४५ वर्षी ५ महिनाका एसाम अल हाडारी सबैभन्दा पाका खेलाडी हुन् ।
  • इंग्ल्याण्ड मात्र त्यस्तो एउटा टिम हो जसको टोलीमा रहेका २३ खेलाडी नै घरेलु लिगबाट खेल्छन्।
  • रसियामा विश्वकप जित्ने टिमले ३८ मिलियन अर्थात ३८ करोड अमेरिकी डलर पुरस्कार पाउनेछन् जून नेपाली ४ अर्ब १० करोड बराबर हो ।

मयाङ्क घिमिरे