काठमाडौं: फिफा विश्वकप २०१८ को समूह चरण अन्तर्गत आज ३ खेल हुँदैछन् । समूह ‘ए’ अन्तर्गत आज उरुग्वेले साउदी अरेबियाको सामना गर्दै छ । यस्तै गरी समूह ‘बी’ अन्तर्गत आज  पोर्चुगलले मोरोक्को को सामना गर्ने छ भने स्पेन विरुद्ध इरान मैदानमा उत्रिनेछन् ।

नेपाली समय अनुसार ५:४५ मा हुने आजको पहिलो खेलमा लुझनिकी रंगशालामा पोर्चुगलले मोरोक्कोको सामना गर्दै छ । पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको पोर्चुगल  समूहको दोश्रो स्थानमा रहेको हुँदा पोर्चुगल अर्को चरणमा प्रवेश गर्न यस खेल निकै नै महत्वपूर्ण रहेको छ।पोर्चुगलले सन् २००२ यता गैर-युरोपियन राष्ट्रसँग विश्वकपमा हार बेहोरेको छैन।


। मोरोक्कोले पहिलो खेलमा इरान विरुद्ध हार बेहोरेपनि ६८ प्रतशित बल आफ्नो नियन्त्रणमा राखेको थियो। तर गोल गर्न नसक्ने समस्याका कारण पराजित भयो।

आज हुने दोश्रो खेलमा समुह ‘ए’ अन्तर्गत उरुग्वेले साउदी अरेबियाको सामना गर्ने छ । राती ८:४५ बजे रोस्तोभ एरेनामा हुने खेलमा जित हात पार्दै उरुग्वे अन्तिम १६ मा पुग्ने दाउमा छ। उता अन्तिम १६ को सम्भावना कायम राख्न साउदीको लागि भने जितको विकल्प छैन। दोस्रो चरणमा प्रवेश गर्न साउदीले उरुग्वेलार्इ सकेसम्म पराजित गर्नैपर्छ। तर १९३० र १९५० मा दुर्इ पटक विश्वकप जितिसकेको उरुग्वेलार्इ समूह चरणमै रोक्न साउदीले कडा मिहिनेत गर्नुपर्नेछ। पाँचौं पटक विश्वकपमा सहभागी हुँदै गरेको साउदी १९९४ मा एक पटक मात्र राउण्ड अफ १६ मा पुगेको थियो। उरुग्वे जित हात पारेमा आयोजक रसियासँगै एक खेल खेल्नुअघि नै अन्तिम १६ मा पुग्नेछ भने इजिप्ट र साउदी अरेबिया बाहिरिनेछ। हालसम्म एकअर्का विरुद्ध दुर्इ पटक भएको प्रतिस्पर्धामा उरुग्वे एक खेलमा विजयी भएको छ भने अर्को एक खेल बराबरीमा टुंगिएको थियो।

विश्वकप २०१८को दाबेदार मानिएको स्पेनले आज एसियन राष्ट्र इरानको सामना गर्नेछ । इरान र स्पेन आज राती ११:४५ मा कजान एरेनामा भिँड्दैछन्। आठ वर्षअघिको विश्वकपमा पहिलो खेल हारेर पनि अन्त्यमा च्याम्पियन बन्न सफल स्पेन सन् २०१४ को विश्वकपबाट  समूह चरणबाटै बाहिरिएको थियो। पोर्चुगल सँग पहिलो खेल बराबरी खेलेको स्पेनलाई अर्को चरणमा प्रवेश गर्न आजको खेल महत्वपूर्ण मानिएको छ । यी दुर्इ टोली पहिलो पटक एकअर्का विरुद्ध फुटबल मैदानमा उत्रदैछन्।