काठमाडौंः ‘द भ्वाइस अफ नेपाल’,‘हिमालय रोडिज’ जस्ता चर्चित रियालिटी शो प्रसारण गरिरहेको हिमालय टेलिभिजनले अब विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को उत्पादन तथा प्रसारण गर्ने भएको छ ।

बैशाख पहिलो साताबाट हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि हिमालय टेलिभिजन एच डीमा प्रसारण हुने शो पहिलो सिजन २६ इपिसोडको हुने भएको हो ।

बीबीसी स्टुडियोले सुरु गरेको यो रियालिटी शो बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायत विश्वका सयभन्दा बढी देशमा प्रसारण भइरहेको छ । अमेरिकामा हाल २८ औं सिजन चलिरहेको छ ।

यस शोमा हरेक विधामा लोकप्रियता कमाएका १२ जना प्रतिस्पर्धी छन् ।


। गायक बुद्ध लामा, सृष्टि केसी, टिकटक स्टार दिपा र दमन्ता, कमेडियन उमेश राई, पत्रकार ऋषि धमला, मैथिली नायिका पुजा ठाकुर, बालकलाकार देवांशी बैदवार, मिस नेपाल युनिभर्स मनिता देवकोटा, नायक अनुप विक्रम शाही, मोडल ज्योति मगर, मोडल सुमी मोक्तान र फुटबल खेलाडी अनिल गुरुङ प्रतिस्पर्धीको रुपमा रहेका छन् ।

उनीहरुलाई युमी बलामी, राजिव कुमार, कविता नेपाली, प्रमोद कुमार भण्डारी, सुभम भुजेल, लाउरे सिंह, कोमल पाण्डे, केविका पाण्डे, सुनिल विक, प्रविन विक, भिजु पार्की, केशव थापाले कोरियोग्राफ गर्नेछन् ।

एक जना प्रतिष्पर्धीका लागि एकजना कोरियोग्राफर हुनेछ ।

निर्णायकको रुपमा गौरी मल्ल र रेनाशा बान्तवा राई रहेका छन् भने एक जना निर्णायक छनौट गर्न बाँकी रहेको बताइएको छ ।

भारतमा यो शो ‘झलक दिखलाजा’ नामले परिचित छ । दर्शकको भोट र निर्णायकको निर्णयका आधारमा हरेक हप्ता एक जना प्रतियोगी बाहिरिनेछ । विजेताले २५ लाख र गाडी पुरस्कार पाउनेछ ।


प्रकाशित मितिः मंगलबार, चैत ४, १०:२५