भक्तपुरः प्रत्येक बर्ष असार शुक्लपक्ष प्रतिपदामा पाँचतल्ले मन्दिरको बिशेष पुजा गरी मन्दिरको गजुरमा झण्डा फहराइने परम्परा छ ।

विश्व प्रसिद्ध पाँचतल्ले (ङातापोल्ँह) मन्दिरको ३१८ बर्ष पुरा भई ३१९ जन्मोत्सव वर्षबन्धन (बुसादाँ) को अवसरमा मन्दिरको बिशेष पुजा गरी गजुरमा झण्डा फहराइएको हो । सेतो कपडामा रातो चन्द्रआकार भएको ठूलो झण्डा फहराइएको हो ।

आजको दिन पूजामा बोका बली दिने परम्परा रहेता पनि यो बर्ष लकडाउनका कारण सबै मन्दिरमा सामान्य पुजामा सिमित रहेकाले बली नदिई सामान्य पुजा गरि झण्डा फहराइ मनाइएको पुजारी पदम कर्माचार्यले जानकारी दिए ।

मन्दिरमा पूजा गर्न राजोपाध्याय, कर्माचार्य, जोशी र ताल्चाभडेल पुजारीहरुले पुजा गर्ने परम्परा रहिआएको छ ।


मन्दिरको गजुरमा तुछिमला टोलका अवालहरुले झण्डा फहराउने गर्दछन् । मन्दिरमा झण्डा राख्नको लागि तुछिमलाको अवालबाहेक अरुलाई मन्दिर माथि प्रवेश नदिने परम्परा चलिआएको छ ।

प्रत्येक बर्ष झै यो बर्ष पनि करिव एक दर्जन अवालहरु मन्दिरको माथि गएर गजुरमा झण्डा फहराएको थियो । सो झण्डा राख्नको लागि चार जना गजुरको चार कुनामा बसेर झण्डा फहराएका थिए ।

करिब २५/३० फिटको हाँगा सहितको बाँसमा लम्वाई ६६ ईन्च र चौडाई ४४ ईन्चको कपडाको झण्डा फहराइएको थियो । यस्तो ज्यान जोखिममा पारेर काम गर्नु पर्ने अवालहरुलाई भक्तपुर गुठी संस्थानले आर्थिक सहयोग गरिआएको छ ।

नेपाल सम्वत ८ सय २२ मा तत्कालिन भक्तपुरका राजा भूपतिन्द्र मल्लले सिद्ध अग्नी कोत्याहुती होम सु–सम्पन्न गरी श्री सिद्धिलक्ष्मी देवीलाई पाँंचतल्ले मन्दिरमा प्रतिस्थापना गरी झण्डा फहराइएको इतिहास छ । त्यही बेलादेखि नै प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा झण्डा फहराइने गर्दै आएको पाइन्छ ।


प्रकाशित मितिः सोमबार, असार ८, २०७७, १३:४६