काठमाडौं: आज विश्वभर ४६ औं वातावरण दिवस मनाइँदै छ । हरेक वर्ष जून ५ तारिखमा मनाइने वातावरण दिवसको यस वर्ष “प्लास्टिक प्रदूषणमाथि प्रहार: सके पुनर्प्रयोग नसके बहिष्कार” नाराका साथ मनाइँदै छ  ।

नेपालमा पनि आज विभिन्न कार्यक्रम संचालन गरी वातावरण दिवस मनाइएको छ । वातावरण दिवसका दिन सरकारी तथा गैरसरकारी संस्थाबाट विभिन्न प्रकारका वातावरण सम्रक्षण कार्यक्रम तथा आयोजनाहरु सार्वजनिक हुने गरेका छन् । तर यस्ता विभिन्न कार्यक्रमले वातावरणमा प्रभावकारी परिवर्तन भने ल्याउन सकेका छैनन् ।

प्रदूषणका अरु विभिन्न कारण मध्य प्लास्टिकको बढ्दो प्रयोग प्रदूषणको एक मुख्य कारण हो ।


। प्लास्टिक झोला बनाउँदा विभिन्न किसिमका रसायनसमेत प्रयोग गरिन्छ । यस्ता रसायनले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ । यसरी बनेका प्लास्टिकका झोला वर्षौवर्षसम्म पनि नकुहिने तथा प्रकाश, ताप र अन्य रासायनिक पदार्थबाट समेत नष्ट नहुने खालका हुन्छन् । प्लास्टिक जलाउँदा वा फोहोरका रुपमा जमिनमा फ्याँक्दा यसले मानव स्वास्थ्य तथा वातावरणमा समेत प्रतिकुल असर पार्छ ।

प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्न सरकारले वर्षौदेखि विभिन्न प्रकारका योजना सार्वजनिक गर्दै आएको छ । तर सरकारका ती योजनाहरु कागजमै सिमित हुने गरेका छन् । प्लास्टिक प्रयोग व्यवस्थापन गर्न सरकारले पहिलो पटक प्लाष्टिक झोला नियमन तथा नियन्त्रण र्निदेशिका ऐन ०६८ ल्याएको थियो । जसमा न्युनतम ३० माइक्रोन भन्दा पातलो झोला उत्पादन, आयात–निर्यात, खरिदबिक्री तथा प्रयोगमा रोक लगाउने कुरा उल्लेख थियो । तर यस नियमको कार्यान्वयन भने हुन सकेन । सरकारले वैशाख २०७२ मा ३० माइक्रोन भन्दा कम मोटाइका प्लास्टिक झोला काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा प्रतिबन्ध लगाउने निर्णय गरी राजपत्रमा सूचना समेत प्रकाशित गर्यो । आर्थिक वर्ष ०७३/७४ को बजेटमा सरकारले प्लास्टिक व्यवस्थापनलाई प्राथमिकता समेत दिएको थियो । यसरी पटक–पटक प्लास्टिक व्यवस्थापन गर्न नीति तथा कार्यक्रम बनेतापनि प्रभावकारी कार्यान्वयन भने अहिले सम्म हुन सकेको छैन ।

काठमाडौं महानगरिपालिकाको वातावरण व्यवस्थापन महाशाखाका अनुसार काठमाडौंमा निस्कने कुल फोहोरमध्ये प्लाष्टिकजन्य फोहोरको मात्रा १५ प्रतिशत छ  भने विश्वमा वर्षेनी ३० करोड टन प्लाष्टिकजन्य फोहोरको विसर्जन हुने गरेको छ ।

वातावरण विभागले प्लास्टिक प्रयोगको व्यवस्थापन गर्न यस वर्ष वातावरण दिवसको नारा नै ‘प्लास्टिक प्रदूषणमाथि प्रहार : सके पुनर्प्रयोग नसके बहिष्कार गरौ” ल्याएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयले देशभर प्लास्टिक प्रतिबन्ध लगाउन सबै मन्त्रालयलाई परिपत्र गरेको जनाएको छ । मन्त्रालयले जनचेतना अभिवृद्धि कार्यक्रमसमेत सञ्चालन गर्ने कार्ययोजना बनाएको छ ।

प्लास्टिक भनेको पोलिथिन झोला मात्रै हैन, प्लास्टिकबाट बनेका सबै वस्तुहरु पर्दछन् । मानव जीवन र पर्यावरणीय दृष्टिकोणबाट प्लास्टिक कुनै अर्थमा पनि फाइदाजनक छैन । यसै करण प्लास्टिकको व्यवस्थापनमा सरकारले जोड दिन जरुरी छ । पहिले जस्तै योजनाहरु कागजमा सिमित हुन नदिन सरकारले कडा कानुनका साथ योजनालाई व्यवहारमा उतार्नुपर्ने हुन्छ । सर्वसाधारणमाझ अझै पनि प्लास्टिक प्रयोगको नकारात्मक असरको ज्ञान नभएको हुँदा जनचेतनामूलक कार्यक्रम संचालन गरी सर्वसाधारणलाई प्लास्टिकको नकारात्मक असर बारे जानकारी गराउन जरुरी छ । प्रयोग भइसकेको प्लास्टिकजन्य फोहोरको संकलन गर्न कवाडीहरु परिचालन तथा संकलन केन्द्रहरु स्थापना गर्ने, वर्गीकरण गरिएका प्लास्टिकहरु पुनप्रशोधन गर्ने तर्फ सरकारले ध्यान दिन जरुरी छ । साथै सरकारले प्लास्टिकका झोलाहरु विस्थापन गर्न कागज वा अन्य वातावरण मैत्री सामग्रीबाट बनेका झोला उत्पादकहरुलाई प्रोत्साहन हुने नीति तथा कार्यक्रम ल्याउन जरुरी छ ।

मयाङ्क घिमिरे