काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (अण्डरलाईन) मा एमाले र माओवादीबीच एकताको घोषणा भएसँगै नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ । बिभिन्न अड्कलबाजी र समय समयमा दुई पार्टीका नेताहरुले दिने भनाइसँगै ६ महिनाको समय पार गरेको पार्टी एकताले नेपाली राजनीतिका विश्लेषक, आम नागरिकहरुलाई समेत आश्चर्यमा पार्दै मदन भण्डारीको स्मृती दिवसमा सार्थकता पाएको हो ।

पार्टी एकीकरण पछि तातेको नेपाली राजनीतिमा बिभिन्न किसिमका अड्कलबाजी र पार्टी भित्रको सन्तुलनलाई लिएर चर्चा परिचर्चा सुरु भएको छ । खास गरि दोस्रो दर्जाका नेताहरुको भूमिका के र कस्तो हुने ? उनीहरुको जिम्मेवारी कस्तो होला, प्रदेश, जिल्ला, स्थानिय तहलाई कसरी व्यवस्थापन गर्न सक्लान् र नेपाली राजनीतिमा धेरै लामो समय टिक्न नसकेका कम्युनिष्ट इतिहासलाई यो एकताले कति लामो समयसम्म लैजाला आदी आदी ।


पछिल्लो समय तत्कालिन एमालेका केहि नेताहरुलाई साइड लगाइएको अनुभूति कार्यकर्ता पंक्तिमा विशेष चर्चा हुन थालेको छ । खास गरि यो एकताले तत्कालिन एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलको उदय र महासचिव ईश्वर पोखरेलको पदिय मर्यादालाई लिएर नयाँ पार्टी भित्र र वाहिर चर्चा सुरु भएको पाइन्छ ।

एकता प्रक्रियामा ओली र प्रचण्डको प्रमुख पात्र बनेर भूमिका निभाएका विष्णुप्रसाद पौडेललाई महासचिव बनाएपछि निर्वाचित महासचिव पोखरेल अब सचिवालय सदस्यको भूमिकामा मात्र देखिएका छन् । आफु शक्तिशाली महासचिव रहेको पदवाट एकाएक सचिवालय सदस्य पदमा पर्नु र आफू भन्दा जुनियर (उप–महाससचिव) पदमा रहेका विष्णु पार्टी एकता पश्चात महासचिव पदको भूमिकामा देखिनुले उनको भूमिका कस्तो रहला भन्नेमा सबैको चासो  बढेको छ र यस बिषयमा स्वयं पोखरेलले पनि सोचेका होलान् ।

शुक्रबार दुवै दलका केन्द्रीय कार्यालय रहेका धुम्बाराही र पेरिसडाँडाको भ्रमणमा ओली र प्रचण्डसहित सचिवालय सदस्यहरु माधव नेपाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, रामबहादुर थापा बादल र विष्णु पौडेलसँगै भएपनि त्यो समूहमा ईश्वर पोखरेल नदेखिएपछि यसको अनुमान लगाउन सुरु भएको थियो ।

सरकार बन्नु अघि पोखरेल अर्थमन्त्री बन्ने भनेर निकै हल्ला पनि थियो । उनी सरकारमा शक्तिशाली मन्त्रालय लिएर जान चाहन्थे तर सबैको अनुमान विपरित प्रधानमन्त्री ओलीले पोखरेललाई खासै भूमिका नभएको रक्षामन्त्रीमा थन्काइदिए । पोखरेल र प्रधानमन्त्री ओलीको सम्बन्धलाई लिएर पटक पटक अनेकौ टिप्पणी हुने गरेको सुनिदै आएको पनि हो ।

पोखरेलले आफूलाई एमालेको भावी अध्यक्षमा उभ्याउँदै आएका थिए । तर, चुनाव सकिएलगत्तै एमाले–माओवादी एकतामा अनुदार रहेका कारण उनी पछाडि परेको चर्चा चल्न थालेको छ । पोखरेलले सार्वजनिक मञ्चहरुमा कसैलाई पदमा लैजान पार्टी एकता हुन नसक्ने धारणा राखेका थिए ।

दुई पार्टीको एकीकरण पछि तत्कालिन उपमहासचिव विष्णु पौडेलको उदय भएको सहजै अनुमान लगाउन सकिन्छ । नेपाल कम्युनिष्ट पार्टीको महासचिव बनेका पौडेल पछिल्लो समय ओलीको र प्रचण्ड निकट रहेर काम गरेका छन् । ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा अर्थमन्त्री समेत बनेका पौडेल र ओलीको निकटता त्यसपछि झन् बढेको बिश्लेषकहरुले बताएका छन् । उनी २०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बनेका थिए भने झलनाथ खनालको पालामा रक्षामन्त्री बनेका थिए ।

स्याङजामा जन्मघर भएका पौडेल बुटवलका चर्चित नेता हुन् । ०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश गरेका पौडेल सातौं महाधिवेशनपछि पहिलो पटक स्थायी कमिटी सदस्य बनेका थिए । ०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र ०७१ को नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भएका थिए । उनले बुटवलबाट पटक–पटक सम्म चुनाव जितेका छन् । उनी बुटवलबाट राजनीति गर्नुपूर्व २०५१ को निर्वाचनमा पाल्पा क्षेत्र नम्बर ३ पाल्पाबाट चुनाव जितेर मन्त्री समेत भैसकेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीको एकता चर्चा एकातिर हुँदै गर्दा एमालेकै नेताहरुमा पनि पौडेलको छलाङ्ग र पोखरेलको जिम्मेवारी कमजोर हुनु र उनलाई छाँयामा राख्नु पक्कै पनि एकीकरण भएको पार्टीभित्रको एकता र दूरदर्शिताले कमजोर धरातलमा नलैजाला भन्न सकिदैन । आफु भन्दा तलको पदमा जिम्मेवारी वहन गरेको ब्यक्तिलाई एकाएक माथिल्लो तहमा सम्बोधन गर्दा पोखरेलाई केहि न केहि र कतै न कतै आत्मग्लानी हुनेछ । आफु पक्षका नेताहरुलाई काखी चाप्ने, गुट बनाएर भूमिका खोज्ने, मर्यादाक्रम भन्दा माथी उठेर काम गर्न थाल्ने हो भने लामो समयदेखि पार्टीभित्र भूमिका खेल्दै आएका र नेपाली राजनीतिमा प्रत्यक्ष प्रभाव पार्न सक्ने नेताहरुमा नैराश्यता उत्पन्न नहोला भन्न सकिदैन ।