काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक धर्मराज अधिकारी सहित सात जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

प्रबन्ध सञ्चालक धर्मराज अधिकारी, सञ्चालक समितिका अध्यक्ष र सदस्यहरु तथा कर्मचारीको मिलेमतोमा बीउ खरिद तथा आर्थिक मसान्त सकिएपछि पनि निजी बीउ व्यवसायीसँग मकै बीउ कम्पनीले खरिद गरेको विषयमा अख्तियारले छानबिन गरेको थियो ।

सो प्रकरणमा दोषी देखिएपछि अख्तियारले अनियमितता गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


तत्कालीन राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक धर्मराज अधिकारी समेतको मिलेमतोमा कम्पनीको अनुदानमा कृषकहरुलाई उपलब्ध गराउने मकैको बीउ ‘कृषकहरुलाई उन्नत बीउ बिजन खरिद मूल्यमा अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधी, २०६८’ अनुसार वितरण नगरी खरिद तथा बिक्री वितरण गरिएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २०, ०७:३५