विचार निरन्तर प्रवाह हो । विचार आफै समय र माग अनुसार परिभाषित र परिमार्जित हुँदै जान्छ । तर विचार कहिल्यै मर्दैन । त्यसमा पनि समाजका पक्षमा, देशका पक्षमा, समग्र मानव सभ्यताका पक्षमा केन्द्रित विचार अजेय र कालजयी हुन्छ । नेपालका सन्दर्भमा थोरै मात्रै विचारकहररू जन्मिएका छन् । राजनीतिक रूपमा आरम्भको कुरा गर्दा पृथ्वीनारायण शाह कुशल संगठक, परिचालक, अभियन्ता र विचारक थिए । तत्कालीन समयको कसीमा हेर्ने हो भने उनी राजनेतामा हुनुपर्ने सबै गुणका अनुपम संगम थिए भन्न सकिन्छ ।

नेपालको लोकतन्त्रको मियो चिन्तक वीपी कोइराला नै हुन् । राष्ट्र र राष्ट्रवादको चेतना पृथ्वीनारायणमा रहेको पाइन्छ भने नेपाली नागरिकमाझ पुऱ्याएर त्यसमा प्राण भर्ने चेतनाको विस्तार वीपी कोइरालाले नै गरेका हुन् ।


। वीपी कोइरालाले आधुनिक नेपाली राजनीतिमा राष्ट्रियतासँग राजनीतिक स्वतन्त्रता र सामाजिक न्यायलाई समेत अन्योन्याश्रित गराइदिए । वीपी कोइरालापछि नेपालको साम्यवादी आन्दोलनका आरम्भ विचारक पुष्पलालले विचारको श्रृंखलामा विशिष्ट योगदान दिएका छन् ।

नेपालको भूमिमा जन्मेर संसार छाएका शान्ति र अहिंसाका पुजारी गौतम बुद्धको नाउले नेपाललाई जसरी चिनाएको छ त्यसरी नेपाल चिनाउने क्षमता अरू कसैमा नदेखिए पनि पृथ्वीनारायण शाह, वीपी कोइराला र पुष्पलालले आधुनिक नेपाली राजनीतिको धरातललाई विचार संप्रेषण गरी उर्वर बनाएको कुरा सर्वसिद्ध छ । वीपीले नागरिक तत्वलाई केन्द्रमा राख्ने काम गरे । जनतासँग राष्ट्र र राष्ट्रियता जोडिएको हुनाले जनता सर्वोपरी हुने विचारलाई वीपीले नै प्रसार गरेका हुन् नेपालीमाझ । यसअघि जनतालाई गौण सम्झने परम्परा थियो । अहिले पनि परम्परागत निरंकुशतामा विश्वास गर्नेहरूले राष्ट्रलाई पहिलो केन्द्रमा राख्ने बहानामा जनतालाई उपेक्षित गरिरहेका हुन्छन् भने जनताको नाउमा एकाधिकारवादी सोच र सत्ता कायम गर्न खोज्नेहररूले राष्ट्र र जनता दुवैका विपरीत काम गरिरहेका हुन्छन् । तर जनतालाई केन्द्रमा राखेर राष्ट्र, राष्ट्रियता, विकास, शान्ति र सामाजिक न्यायको विषयलाई अघि बढाउनेहररू लोकतन्त्रका पक्षमा बलियोररूपमा प्रस्तुत हुने गर्दछन् ।

वीपी कोइरालाको पक्ष त्यही लोकतन्त्र हो । लोकतन्त्र प्रणाली मात्रै निश्चय पनि होइन । यो अभ्यास हो । आचरण हो । सभ्यता र निर्माण हो । लोकतन्त्र जीवन पद्धति हो । लोकतन्त्र स्थापना गर्न कठिनाइ हुँदैन तर लोकतान्त्रिक आचरण स्थापना गर्न कठिन हुनेछ । लोकतन्त्रवादी हुन जति कठिन छ लोकतान्त्रिक हुन अझ कठिन छ । वीपी कोइराला लोकतन्त्रवादी मात्रै थिएनन् उनी लोकतान्त्रिक पनि थिए । वीपीले लोकतन्त्रलाई जीवन पद्धति बनाउने काम गरेका थिए । उनले लोकतान्त्रिक सभ्यताको जग बसाउने प्रयास गरेका थिए । सौभाग्यवस यो पंक्तिकार वीपीको सान्निध्यता छोटो समय भए पनि पाउनेमा पर्दछ । म त्यसबेला राष्ट्र पुकारमा काम गर्थें । हामी सबैका अग्रज होमनाथ दाहालले सम्पादन तथा प्रकाशन गरिरहेको राष्ट्र पुकार साप्ताहिक प्रजातान्त्रिक प्रणाली स्थापनार्थ वीपी विचारलाई आफ्नो लक्ष्य बनाएर प्रकाशित भइरहेको थियो । ०३५ सालमा औपचारिक पत्रकारिताको समुद्रमा पौडी खेल्न लागेपछि लगत्तै म राष्ट्र पुकारमा संलग्न भएको हुँ । प्रजातान्त्रिक आन्दोलनको एक सशक्त दैनिक नेपाल टाइम्सबाट ०३५ को जेठमा मैले पत्रकारिता सुरु गरेको थिएँ । ०३६ को भदौदेखि मैले राष्ट्र पुकारमा काम गर्न लागेपछि मेरो आफ्नै उद्देश्यलाई पनि वीपीका विचारसँग साक्षात हुन सहज भयो ।

०३१ सालदेखि लोकतान्त्रिक आन्दोलनमा संलग्न भएको हुनाले वीपीलाई पढ्न मैले थालिसकेको थिएँ । सानोमा पहाडमा वीपीबारे धेरै नकारात्मक कुरा सुनेको बालमस्तिष्कमा वीपी एकै पटक छाउन पुगे । पञ्चायती प्रहारका बाबजुद वीपी विचार विश्वासका साथ हामी धेरैको मनमा स्थापित भइसकेको थियो । वीपीका सन्देश बोकेर धेरै युवाहरू आन्दोलनमा क्रान्तिमा होमिइरहेका थिए । वीपीका विचारलाई परिभाषा गर्न सीके प्रसाईंको कलम सक्रिय थियो । नेपाली समाजमा, नेपाली माटोमा प्रजातन्त्र, समाजवाद, राष्ट्रियताजस्ता सिद्धान्तहररूसँगै परिभाषित हुँदै थिए । हामीजस्ता परिवर्तनको सपना बोकेर हिँडेका नयाँ पुस्ता त्यस आकर्षणसँग चुम्बकले तानिएझैं तानिंदै गएका थियौं । वीपीलाई प्रत्यक्ष देख्ने सपना ०३५ बाट पूरा भयो र यो क्रम उनको र्पार्थिव अवशान ०३९ साउन ६ नभएसम्म निरन्तर रहनपुग्यो । ती चार वर्षमा मैले वीपीलाई केही मात्रै पढ्नसकें । नेपाल विद्यार्थी संघको राजनीति, राष्ट्र पुकारको पत्रकारिता र आफ्नो औपचारिक पढाइ सँगै लैजानु पर्ने हुनाले पनि समय दिन पाइएन होला । तर ०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षको अभियान गर्दा होस् कि त्यसपछि ०३७ को संविधान अस्वीकार गर्ने अभियान होस् वीपीसँग सँगै यात्रा गर्ने अविस्मरणीय अवसर प्राप्त भयो । आज मेरा लागि ती स्मृतिहरू जहिले पनि मार्गनिर्देशक भइरहेको जस्तो लाग्दछ । वीपीले राष्ट्रियता र प्रजातन्त्रलाई छुट्याएनन् । यी दुई मान्यताहररू एक रथका दुई पांग्रा हुन् भन्ने विचार वीपी चिन्तनको महत्वपूर्ण धार हो । यसमा उनले सामाजिक न्यायलाई समाजवादी कार्यक्रमको आधारमा थप गर्ने अर्को विशिष्ट काम गरे । पछिल्लो चरणमा वीपीले राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको प्रतिपादन गरी देशलाई सम्भावित मुठभेड, सम्भावित विदेशी हस्तक्षेप र अराजकताबाट जोगाउन भरमग्दुर प्रयास गरेका हुन् । आज पनि राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता यथावत् छ । यद्यपि राजसंस्था पतन भइसकेको छ । तर निरंकुशताको भय, विदेशी हस्तक्षेपको सम्भावना र अरजाकताको पुनरावृत्ति जे पनि हुने संकेतहरू विद्यमान छन् । यसैकारण मेलमिलाप अनिवार्य छ ।

पात्रहररू भिन्न भएका होलान् । परिस्थितिमा अन्तर आएको छैन । आज देखिएको चरम जातिवाद, उग्र क्षेत्रीयतावाद र निरंकुशतावादको भयलाई निषेध गर्ने हो भने मेलमिलापको सिद्धान्त उत्तिकै सान्दर्भिक देखिन्छ । वीपी राजनीतिको कोरा आदर्श पात्र थिएनन् । मानवीय विवेक र हृदयको वाणी बोल्ने नेता थिए । त्यसैको प्रतिविम्बन हो साहित्यमा आफूलाई बन्धनहीन बताउँदै सबैलाई असल बन्ने शिक्षा दिनु । मोदि आइन् मार्फत् उनले संसारलाई शान्ति, सद्भाव र असल तत्वको पक्षपोषण गर्न आग्रह गर्न पुगेका छन् वीपी । मैले वीपीलाई निकै नजिकबाट हेर्ने अवसर पाउँदा मैले वीपीलाई विवेकको पुञ्ज अनुभव गरेको थिएँ । उनी स्वतन्त्रताको सीमाहीन आदर्शका पक्षमा थिए । त्यसैले आफू प्रधानमन्त्री रहेको समयमा उनले अभिव्यक्ति स्वतन्त्रताको उत्कर्ष अभ्यास गर्न नेपाली प्रेसलाई सरकारी सहयोग गर्न आरम्भ गरेका हुन् । उनले आरम्भ गरेको सरकारी सुविधा आज पनि नेपाली प्रेसका लागि निरन्तर छ । अत्यन्त सभ्य, शिष्ट र तर्कका आधारमा गुण–दोषलाई केलाउने र सूचनाका आधारमा निष्कर्ष निकाल्ने बानी वीपीको अनुकरणीय थियो । मसिना कुरामा पनि उनको ध्यान गइरहेको हुन्थ्यो । वीपीसँग जिल्ला भ्रमण गर्ने क्रममा कहिल्यै पनि कुनै महान् नेतासँग मात्रै होइन सबभन्दा माया गर्ने अभिभावकसँग हिँडिरहेको अनुभव मैले गरेको छु ।

हामी साना भए पनि हरसमय छलफल गर्ने बाहिरी सूचना ग्रहण गर्ने, तर्कहरू सुन्ने र सूक्ष्म विश्लेषण गर्ने बानी वीपीमा थियो । वीपीलाई अझै पढ्न सकिएको छैन । उनका विचारको प्रयोग हुन सकिरहेको छैन । अब त राष्ट्र नै खण्डित हुने सन्धिविन्दुमा पुगेको अवस्था छ । राष्ट्रियताको नयाँ परिभाषा हुँदैछ । लोकतन्त्रमा अनेक आयामहररू जोडिंदै गएका छन् । मेलमिलापको विषय दूर हुँदै छ । स्वयं वीपीका अनुयायीहररू क्षयीकरणतर्फ छन् । प्रजातन्त्र , राष्ट्रियता र सामाजिक न्यायका विरुद्ध यो वा त्यो रूपले लाग्नेहरू त वीपीविरुद्ध रहने नै भए । यसैकारण वीपीलाई गहिरोसँग बुझ्ने र लोकतन्त्रको आचरण गर्ने काम आजका वीपीका अनुयायीहरूबाट जरुरी छ । तर वीपीका अनुयायीहररू आज कति छन् बत्ती बालेर खोज्ने बेला भएको छ । कम्तीमा पनि नेपाली कांग्रेसको नयाँ पुस्ताले प्रजातन्त्रवादीहरू किन घट्दै छन् र किन निरंकुशतावादमा विश्वास गर्नेहरू जनतामाझ शक्तिशाली हुँदैछन् ? उत्तर खोज्न पनि वीपीलाई एक पटक पुनरावृत्त गर्नु पर्दछ । आशा गरौं वीपीको सम्झना गर्दा हाम्रो मन अलिकति भए पनि छट्पटाओस् र राष्ट्रियता, समुदायबीच सद्भाव, अधिकार र स्वतन्त्रतासहित सामाजिक न्यायको बाटो खुला हुनेछ । वीपीका विचारको चर्चा गरिरहँदा र उनीप्रति सम्मान प्रकट गरिरहँदा हामीले गरिरहेको प्रार्थना यसैका लागि हो ।


प्रकाशित मितिः सोमबार, असोज ०१, १४:१५