नेपाली कांग्रेसका निमित्त वीपी विचार सबैभन्दा महत्वपूर्ण तत्व हो । यो कुरा स्वाभाविक हो , त्यसैले यसलाई धेरै चर्चा गर्न पनि आवश्यक छैन । तैपनि यो बिषय भने हाल चासोको केन्द्र बनेको छ । कांग्रेसजनहरुको निमित्त त चासो हुने नै भयो तर कांग्रेसमा आस्था नभएकाहरुको पनि यसमा चासो पलाएको छ । यो चासोको कारण भने सामान्य छ । त्यो हो विभिन्न परस्पर विरोधी विचार राखेर पनि कांग्रेसजनहरु त्यसलाई वीपी विचार भन्ने गर्दछन् ।

नेपाली कांग्रेसमा विचारक तथा चिन्तकहरुको कमी छैन । वीपीको जीवनकालमा उनको सान्निध्य पाउनेहरुको पनि लामै लर्को छ । सबैको व्याख्या एक समान छैन, एक समान नभएको मात्र हैन कुनै कुनै व्याख्या त परस्पर विरोधी पनि छन् ।


। यस्तोमा वीपी सानिध्य नपाएका तर उनको सिद्धान्त मान्ने युवा अनि स्वतन्त्र व्यक्तिहरु पनि वीपीको विचार र सिद्धान्त लिपिबद्ध भएको प्रमाणिक दस्तावेज खोज्न थालेका छन् । यसको अर्थ अब वास्तविक पुराना पुस्ताका विचारक, चिन्तक वा नेताहरुको व्याख्या आँखा चिम्लेर स्वीकार गर्ने सोचमा नयाँ पुस्ता छैन । यहाँ भन्न खोजिएको नयाँ पुस्ता चाहिँ यो विचार र सिद्धान्तको कुरा पछि जानेसुनेका हुन्, यसमा उमेरको महत्व छैन।

कुनै पनि राजनीतिज्ञले आफ्नो विचार वा सिद्धान्त एकै स्थानमा लिपिबद्ध गरेका हुँदैनन् । उनीहरु हमेसा कार्यक्षेत्रमा हुन्छन् त्यसैले अन्तिम अवस्थासम्म पनि परिष्कार गर्ने प्रयत्न गरिरहेका हुन्छन् । नित्य त्यसको विविध व्याख्या गरिरहेका हुन्छन्, त्यसैले आफ्नो कुरा वा इतिवृत्तान्त लिपिबद्ध गर्ने फुर्सद हुँदैन । त्यसैले जति पनि राजनीतिज्ञहरुको यस प्रकारका लेखन उपलवब्ध छन् ती सबैजसो कारागार या नजरबन्दमा लेखिएको पाइन्छ । स्वतन्त्रताको हनन भएको अनुभूतिले यस्ता लेखनमा कहिले प्रभाव पार्छ कहिले पार्दैन । आफू पात्र नभएको कुरा लेख्दा प्रभाव पर्दैन नत्र प्रभाव पर्छ ।

यो कुरामा वीपी पनि अपवाद थिएनन् । उनी नेपाली कांग्रेसको इतिहास लेख्न चाहन्थे तर सुरु गर्न सकेनन् । कारण जतिखेर उनी सुन्दरीजलमा बन्दी थिए त्यो समय कांग्रेसको इतिहास लेख्ने हैन बनाउने बेला थियो । आत्मकथा लेख्न सुरु गरेर पनि छाडेका कारण आत्मवृत्तान्तको सुरुको दोश्रो अनुच्छेदमा छ, भन्छन्,‘ मलाई लाग्दछ, अझ त्यो समय आइसकेको छैन कि म आफ्नो बारेमा लेखौं । मलाई निरन्तर के लागिरह्यो भने मेरो काम बाँकी नै छ ।’

वीपीको मृत्युपछि उनको विचार र सिद्धान्तको बखान गर्ने धेरै निक्ले । वीपी अध्ययनको निमित्त संघ संगठनहरु पनि खुले । तर अपवाद छाडेर सबैजसोको प्रयत्न आफ्नो कुरालाई कसरी वीपी विचार भनेर प्रक्षेपित गर्न सकिन्छ भन्ने नै रह्यो । वीपीका बारेमा अनगिन्ती प्रवचनहरु भए । ती प्रवचनहरुमा चना खाएर जीवन धानेको, बन्दी जीवनको कष्ट भोगेको जस्ता कुराहरु मात्र बारम्बार भए । आफूलाई स्नेह गरेका, सँगै वबताएका पलको सम्झनामा नै यस्ता प्रवचनहरु सीमित भए ।

उनले गरेका कामहरु र त्यससँग मिलेका उद्गारहरु अनि नमिलेका भनाइहरु नकेलाई नयाँ पिंढले खोजेको जस्तो सिद्धान्त र विचारको संकलन बन्दैन । यो क्रममा वीपीको बोली रेकर्ड गरेर त्यसलाई सम्पादन र प्रस्तुत गर्ने गणेशराज शर्माको प्रयत्न अद्वीतीय छ । जीवनको अन्ततिर आफ्नो अन्तिम समय भएको अनुभूति भएर व्यक्त गरिएका ती कुराहरुले वस्तवमै उनको विचार र सिद्धान्तको अपेक्षाकृत सही अनुमान गर्न सकिन्छ ।
यस अनुसार मोटामोटी देखिएको रूपरेखा गिरिजाप्रसाद कोइरालाले लिएको बाटोको ठीक उल्टो देखिन्छ । जहाँ भाइको रुपमा सहयोगी भएर गिरिजाले वीपीलाई अध्ययन गरे त्यही उनका छोराछोरी अनि स्नेह गरिएकी भान्जीको अध्ययन पनि छ । पार्टीमा अविछिन्न अभिन्न भएर रगत, पसिना बगाएका गणेशमान जी र किशुन जीले गिरिजाप्रसादभन्दा ज्यादा वीपी वुझेका थिएनन् भन्ने आधार छैन ।

वीपीमा बहुदल मात्र हैन त्यसमा बहुविचार पनि हुनुपर्दछ भन्ने सोच भेटिन्छ । बलाबेलामा गणेशमान जी र किशुन जीले वीपीका विचारको विरोध गरेका प्रसंगहरु छन् । वीपीले व्यवहारमै ती फरक मतको सम्मान गरेका छन निषेध गरेका छैनन । तर गिरिजाप्रसादले सामान्य मतभिन्नता पनि सहन गर्न नसक्ने स्वभाव र काम प्रशस्त देखाएका छन् ।

सहकार्य हुनसक्छ तर सिद्धान्त छोडेर सहमति गरिन हुदैन भन्ने कुरामा वीपी हमेसा अडिग रहे । गोर्खादलका भरतशमशेरसग पनि सहकार्य गर्न हिचकिचाएनन् तर सहमतिको नाममा आफ्नो सिद्धान्त छोडेनन् । गिरिजाप्रसादले सहमतिको नाममा नेपाली कांग्रेसको आधारभूत कुरा मात्र छाडेनन संस्थापक सदस्यहरु पनि त्यागे । वीपीले मुलुकको हितको निमित्त, मुलुक जोडेर राख्न आवश्यक पर्ने कुराहरु आफूलाई मन परे पनि नपरे पनि हुनैपर्दछ भन्ने विचार र कार्यनीति राखे । संघर्षबाट निक्लेका राम्रा कुराले मुलुुकको भलो हुन्छ, त्यसैले आफूलाई बाधा भयो भन्दैमा केही भत्काउन हुन्न भन्ने उनको विचारको विपरीत गिरिजाको आफ्नो बाटो निष्कंटक बनाउने नीति रह्यो ।

यी कुराहरुको अब असर देखिन आरम्भ भएको छ । मूल विचारमा विचलन आएकाले कांग्रेसीहरु सत्तालाई मात्र सत्य मान्ने भ्रममा फसेका छन । भीडको धार मोड्ने त के कुरा भीडको हावाले उडेर त्यसलाई नै सिद्धान्त बनाउने कांग्रेसीहरुलाई अहिलेको निर्वाचन परिणाम सहन गाह्रो भएको छ । जो स्वाभाविक पनि छ किनभने अब नेपाली कांग्रेस गतिशीलताको नाममा पीलपाते सिद्धान्त अपनाउन थालेको छ । नत्र यस पटक ‘लोकतान्त्रिक गठवन्धनको आवश्यकता किन देखियो र त्यसमा साथ लिने के मापदण्ड थियो ? यो प्रश्नको जवाफ माओवादी नेता बाबुरामको भागिदारीको सन्दर्भमा दिइनुपर्छ, सबै प्रष्ट हुन्छ ।

-स्वयम्भुनाथ कार्की