आफ्ना इच्छा, चाहना वा आवश्यकता परिपूर्तिका लागि आफ्नो देश छाडेर रोजगारिका लागि अन्य मुलुक जानुलाई नै वैदेशिक रोजगारिका रुपमा लिइन्छ ।
नेपालमा औद्योगिक क्रियाकलाप अत्यन्तै कमजोर भएको र कृषिमा पनि समसामयिक आधुनिकीकरण गर्न नसक्नाले आयमा कमी हुँदा जीवन निर्वाह गर्न पनि कठिन परिरहेको छ । जसले गर्दा नेपाली युवा वैदेशिक रोजगारमा जान बाध्य भइरहेका छन् ।
वैदेशिक रोजगारमा गर्नुपर्ने जस्तोसुकै क्रियाकलाप नै किन नहोस् त्यसबाट श्रमको निश्चित मूल्य तोकिएको हुन्छ र सीप अनुरुपको काम गर्नुपर्ने हुन्छ । वैदेशिक रोजगारी २१ औं शताव्दी र सूचना प्रविधि सँगसँगै व्यापकतामा परिणत भएको छ ।
। मानिसका आफ्ना आवश्यकता परिपूर्तिका लागि विश्वका कुना–कुनामा पुगेका छन् चाहे त्यो भ्रमण, व्यापार, रोजगार आदिका कारण नै किन नहोस् । विश्व बजारका उत्पादन र माग आज जुनसुकै कुनामा पुग्न थालेका छन् जसले गर्दा ज्ञान, सीप, क्षमता वृद्धिका साथै आर्थिक अवस्थामा समेत वृद्धि भइरहेको छ ।
वैज्ञानिक र औद्योगिक युगमा वैदेशिक रोजगारी नेपाललगायतका विकासोन्मुख देशहरूको रोजाइको विषयभन्दा बढी बाध्यता र स्वाभाविक विषय बन्न पुगेको छ । अल्पविकसित मुलुकको रुपमा रहेको नेपालमा आवश्यक रोजगारी, सीप र प्रविधिको कमी छ र बेरोजगारी संख्या वढ्दो छ जसको कारण विदेशी मुलुकको सहयोग र नेपाली युवा युवतीले विदेशमा श्रम गरेर पठाएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र थामिएको छ ।
नेपाली इतिहासमा वैदेशिक रोजगारी सर्वप्रथम ब्रिटिस तथा भारतीय सेनामा भर्ती भई सैनिक सेवाको माध्यमबाट सन् १८१६ अर्थात् करिब २०० वर्ष अघिको गोरखा रेजिमेन्टको स्थापनापश्चात् सुरु भएको थियो । त्यहींबाट नेपालीले वैदेशिक आय आर्जन नेपाल भित्राउन थालेका थिए । पछिल्लो समयमा माओवादी द्वन्द्द्व कालपछि सुरक्षा र अवसरका लागि विदेशिने नेपालीको क्रम बढिरहेको प्रतिवेदनले देखाएको छ । पछिल्लो समयमा आएर दैनिक करिब एक हजार कामदार वैदेशिक रोजगारका लागि जाने वैदेशिक रोजगार विभागको रिपोर्टमा उल्लेख गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकअनुसार विदेशमा रोजगारीका लागि २०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२ र महिला पाँच हजार ३७८ गरी जम्मा एक लाख ४० हजार १०० ले पूर्वस्वीकृति लिएकामा पुरुष ३० हजार ११४ र महिला एक हजार ७०४ जना वैदेशिक रोजगारका लागि गएका छन् ।
त्यस्तै रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरी पुरुष ७१५ र महिला ५९ जना दक्षिण कोरिया गएका छन् । चैतमा पनि सबैभन्दा धेरै ११ हजार ४०३ जना मलेसियामा वैदेशिक रोजगारीका लागि गएका छन् । त्यस्तै कम जाने मुलुकमा जापान छ । त्यहाँ चार मात्र वैदेशिक रोजगारीका लागि गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
जीवनलाई खुशी र सम्पन्न तरिकाले विताउन आर्थिक उपार्जन महत्वपूर्ण बन्दै विश्व परिवेशमा नेपालीहरु पनि आफ्नो देशमा भन्दा विदेशमा वढी अवसर र आर्थिक उपार्जन हुने देखेपछि वैदेशिक रोजगारलाई बढी महत्व दिंदै आएका छन्।
देश भित्र प्रयाप्त रुपमा रोगजारी सिर्जना नहुँनु, भएका उद्योग र कलकाराखानाहरु पनि अन्य देशहरुबाट आयातित बस्तुहरुसँग प्रतिस्पर्धा गर्न नसस्दा बन्द हुँदै जानुको कारण पनि स्वदेशमा रोजगार अवशरहरु कम हुँदै गएका छन् । देशमा लगानीमैत्री वातावरण बन्न नसक्दा र राज्यले बनाएका कानुनी प्रकृयाहरुमा सहजता हुन नसक्दा पनि वैदेशिक रोजगारमा नेपाली युवाहरु जान बाध्य भएका छन् । गरिबी, अशिक्षा र स्वदेशी पुँजीको कमीले गर्दा पनि युवामा वैदेशिक रोजगारी नै पहिलो रोजाइको विषय बनेको देखिन्छ ।
हुन तः विदेशमा गएर गरेको आम्दानीले आफ्नो जीवनलाई आर्थिक रुपमा सफल बनाउनु सकारात्मक पक्ष हो । विदेशमा जाँदा ज्ञान र सीप पनि सिक्ने मौका मिल्दछ र त्यसलाई नेपालमा लागू गर्न सकियो र सोही अनुरुप काम गर्न सकियो भने पनि त्यसले फाइदा दिन्छ । विदेशमा जादाँ गर्नुपर्ने काम, सम्बन्धित देशको भाषा, परिवेश पनि राम्रोसँग बुझेर जान सकियो भने त्यसले पक्कै पनि फाइदा दिन सक्दछ ।
स्वदेशमा आय आर्जन हुने जुनसुकै काम गरे पनि हुन्छ भन्ने सकारात्मक सोचको आमनेपाली युवामा अभाव छ । छिटोछरितो सम्पत्ति कमाउने लालसा वृद्धि हुनु र स्वदेशी कामभन्दा विदेशी काममा सम्मान र स्वतन्त्रतादेखि डलरको सपना सजाउनुजस्ता कारणले पनि वैदेशिक रोजगार कतिपयको रोजाइ भए पनि अधिकांशका लागि तत्कालको आर्थिक अभाव समाधानको तत्कालीन बाध्यता बनेको छ ।
विदेशमा जाँदा अपनाउनु पर्ने सुरक्षा, भाषा, गर्नुपर्ने कामदेखि लिएर अदक्षरुपमा वैदेशिक रोजगारमा जादाँ विभिन्न समस्याहरु देखा परेको पाइन्छ । आफुले नजानेको कमाले गर्दा रोजगारीको अवसर गुम्ने, विभिन्न दुर्घटनाहरुकमा परेर घाइते हुने, ज्यान गुमाउनु पर्ने जस्ता बाध्यताहरु पनि निम्तिन सक्दछन् जसले गर्दा विदेशमा बोकेर गएर सपना सकार नहुँन सक्दछ।
वैदेशिक रोजगारिको कारण विदेशमा मात्र होइन स्वदेशमै पनि विभिन्न समस्याहरु देखा परेको पाइन्छ । लामो समयसम्म विदेशमा रहँदा घरपरिवारको विचल्ली हुने, परिवारमा माया, स्नेह घट्दै जाने, परिवारसँगको निकटता बढ्दै जाने । परिवारमा विचलन हुने जस्ता समस्याहरु पनि देखा पर्दै गएका पाइन्छ ।
वैदेशिक रोजगारीले ग्रामीण जनताको जीवनस्तर उकासी गरिबी न्यूनीकरण, अर्थतन्त्र सुदृढीकरण र विदेशी मुद्रा भित्रनुको साथै वैदेशिक ज्ञान, सीप र अनुभवले तत्काल बेरोजगारी समस्या समाधान गरेको छ । तर सम्झौता अनुसारको काम र ज्याला नपाउनु, कष्टकर र क्षमताभन्दा वढी काम गर्न वाध्य पारिनुले बिभिन्न किसिमका समस्याहरु सिर्जना भएको पाईन्छ जसले गर्दा मानसिक रुपमा विछिप्त हुने, मानसिक अवस्था गुमाउने, आत्महत्या गर्ने घटनाहरु सुनिदै आएको छ ।
नेपाली युवाहरु विदेश जाने क्रममा देखिने समस्याहरु अनेक प्रकारका छन् । नेपाली कामदार वैदेशिक रोजगारमा जाने प्रस्थान विन्दुबाटै विभिन्न समस्या पर्ने गरेको पाइन्छ । विदेशमा जाने युवालाई नियमन र नियन्त्रण गर्न नसकिनु, वैदेशिक रोजगारमा अलपत्र परेकाको उद्धार नहुनु, घरेलु कामदारमा जाने महिला हिंसामा पर्नु, विदेशमा नेपाली नेपालीबाटै ठगिनु र वैदेशिक रोजगारका विषयमा त्यससँग सम्बन्धित निकायमा दैनिकजसो पर्ने हजारौंको सङ्ख्याका उजुरीले वैदेशिक रोजगारलाई चुनौतीको विषय बनाएको छ ।
आर्थिक उदारीकरणको युगमा स्वदेशमै श्रम गर्नुपर्छ भन्ने कुरा त्यति सान्दर्भिक हुँदैन तर घातक सरुवा रोगको सङ्क्रमण, लागूपदार्थ ओसारपसार, आतंकवाद, चोरी, दलाली तथा गिरोहहरूको सम्पर्क केन्द्र र मानव अङ्गको प्रयोगशालाको साथै अवैध बेचबिखन वैदेशिक रोजगारमार्फत अल्पविकसित देशहरूमा भित्रिएका प्रमुख नयाँ चुनौती हुन् । यस्ता विषयतर्फ सरकार संवेदनशील बनी वैदेशिक रोजगारीको मापदण्ड तयार गर्नुपर्छ । साथै वैदेशिक रोजगारका सम्बन्धित गतिविधिमा गैरकानुनी काम गर्ने, ठग्नेलाई कडाभन्दा कडा कारबाही गरी दलाली प्रथाको अन्त्य गर्नुपर्छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook