शनिबारको दिन । सबै होली डेकै मुडमा थिए । चिसो हावासहितको बिहान घमाइलो नभए पनि रमाइलो थियो । कोही घरमै बसेर शनिबार मनाउँदै थिए कोही आउटिङमा । कोही गन्तव्यतर्फ जाँदै थिए ।

जब घडीको सुइले मध्यान्हको संकेत गर्दै थियो, एक्कासी भित्तामा झुन्डिएको घडी नै ढल्यो र संभवतः उसले पनि थाहा पाएन, त्यसपछि के भयो भने । २०७२ वैशाख १२ मा ११: ५६ मा मा आएको यो शक्तिशाली भूकम्पले हामी सबैलाई यसरी हल्लाइदियो, केही छिन त हामीलाई पत्तै भएन के हुँदैछ भनेर ।

कम्पन यति कहालीलाग्दो थियो, हामी सबैले सामान्य होस नै गुमायौं । भाग्ने त कुरै भएन, टेकेको ठाउँ वा जमिनमा अडिनमा पनि गाह्रो हामीलाई गाह्रो भइरहेको थियो ।


। ढोका खोलेर बाहिर जाने मौका पाएनन् । शनिबारको सबै रमाइलो र खुसी क्षणभरमै सखाप भयो । केही छिनअघिको रमाइलो माहोल एकछिनमै मलामीमय भयो। सबैतिर सुनसान अनि स्तब्ध । दिउँसै अध्याँरोजस्तो भयो ।

मानिसहरु छिनछिनमा आयो आयो भन्दै चिच्यारहेका थिए। काठमाडौंका सारा घरहरु एकछिनमै रित्ता भए । मनिसहरु आफ्ना सुन्दर घर र महल भूकम्पलाई जिम्मा लगाएर सडक र चौरमा थुप्रिए । धरहरा ढलिसक्यो, बशन्तपुर भत्कियो, छ लेनको सडकमा चिरा पर्‍यो, साँखु सखाप भयो, बुङमति ध्वस्त छ, यस्तै यस्तै हल्ला र खबर निरन्तर आइरहे । बाहिर के भइरहेको छ, मानिस अन्योलमै थिए । टेलिफोन सम्पर्क पुरै अस्तव्यस्त भयो । आफन्त र परिवारका सदस्यहरुको अवस्था बुझ्‍न पनि सकस भयो ।

सहरमा निकै कोलाहल र चिच्चाहट थियो। सहर धुलाम्मे भइसकेको थियो । सडकमा एम्बुलेन्स र सुरक्षाका आपतकालीन साइरनहरु मात्रै बज्न थाले । आकासमा हेलिकोप्टर घुम्न थाले । मानिसहरु भयभित मुद्रामा खुला सडक र चौरमा निकै निरीह भएर बसिरहेका थिए । दृश्य हेर्दा लाग्थ्यो, सबैका लागि मृत्यु नजिकै आइरहेको छ, उनीहरु त्यही कुरिरहेका छन् ।

आज दुई वर्ष पुगेको छ। अझै पनि त्यो झट्काले घरीघरी हामीलाई तर्साइरहेको हुन्छ।हाम्रा धेरै सपनाहरु भूकम्पले छिन्‍नबिन्‍न बनायो । हाम्रो राष्ट्रिय जीवन, अर्थतन्त्र र समाजलाई अस्तव्यस्त बनायो । अर्बौको नोक्शानी राष्ट्रले भोग्‍नुपर्‍यो । धेरै सुन्दर सम्पदा र संरचना गुमाउनुपर्‍यो । त्यसलाई सम्झेर हामीले शिक्षा र संकल्प लिने दिन हो आज।

११:५६ को शक्तिशाली झट्कापछिको परकम्प शृखंला निकै पीडादायक थियो। हामीले छिनछिनमा परकम्प झेल्नुपर्‍यो । झन्डै एक साता मानिसले खुला आकासमुनि नै जीवन चलाए। चौर र सडकमै भान्सा चलाए, त्यही ओछ्यान त्यही बनाए ।सानातिना झट्कालाई सामाना गर्दै सामान्य अवस्थातिर फर्किने मनस्थिति बनाउँदै गर्दा वैशाख २९ फेरि अर्को शक्तिशाली झट्का बेहोर्नु पर्‍यो । यसले सामान्य बन्‍न लागेको जनजीवनलाई झन् अस्तव्यस्त बनायो, त्रास अरु थपियो । घर फर्किन लागेका सबै मानिस फेरि सडकको शरणमा पुगे । त्यसपछिको जनजीवन थप कष्टपूर्ण र त्रासपूर्ण रह्‍यो ।

वैशाख १२ र २९ को विनाशकारी भूकम्पमा झन्डै आठ हजारभन्दा बढीले ज्यान गुमाउनुपर्‍यो ।हजारौं मानिस घाइते भए । उपचारका लागि अस्पतालमा ठाउँ भए। कति उपचार नपाएर ज्यान गुमाउनुपर्‍यो । भूकम्पका अवशेषले च्यापिएका धेरै बालबालिका तथा वृद्धवृद्धा तथा असक्तहरु समयमा उद्धार नभएर मृत्यु बहन गर्नुपर्‍यो । बालबालिकाहरुले पढ्न पाएनन् ।

भूकम्पमा लाखौं मानिसहरु घरबारबिहिन भए। भूकम्प गएको दुई वर्ष पुग्दा पनि हामीले पुनर्निर्माणलाई प्रभावकारी रुपमा अघि बढाउन सकेका छैनौं । भूकम्पमा घरबार गुमाएका सर्वसाधारण बनपाखा र बारीमा टहरा बनाएर सकसको जिन्दगी बिताइरहेका छन्। सरकारले अघि बढाउने भनेको पुर्ननिर्माण अभियान गफजस्तै भए पनि धुर्मुस सुन्तली फाउन्डेशनले भूकम्प पीडितको पुनरस्थापनाका लागि गरेको काम भने अत्यन्तै प्रशंसनीय र उदाहरणीय छ। धुर्मुस सुन्तलीले काभ्रे, सिन्धुपाल्चोकको गिरानचौर र बर्दिबासमा भूकम्प पीडितका लागि एकीकृत बस्ती निर्माण गरिसकेका छन्।

विपद् व्यवस्थापन र त्यसपछि पुनर्निर्माणमा राजनीतिक नेतृत्वको भूमिका जुन रुपमा प्रभावकारी हुनुपथ्र्यो, त्यो हुन सकेन। तर विपद्‍ व्यवस्थापनको त्यो संकटपूर्ण घडीमा राज्यका सुरक्षा निकायको भूमिका निकै प्रशंसनीय देखियो। उद्धार, राहतलगायतका विपद् व्यवस्थापनमा सरकारको उपस्थिति नेपाली सेना, प्रहरी र सशस्त्रको भूमिकाबाट झल्कियो । सुरक्षाकर्मीहरू आफ्नो ज्यान जोखिममा राखेर पनि अरूलाई बचाउन साहसिक भूमिका निर्वाह गरेका थिए।

यो विपत्तिबाट हामीले पाठ सिकेर समृद्धि र पुर्ननिर्माणका लागि फेरि संकल्प गर्नुपर्ने आजको आवश्यकता हो। यसमा हामी ढिला भइसकेका छौं । वैशाख १२ पछि हामीले हजारभन्दा पनि बढी साना ठूला परकम्प हामीले भोगिसक्यौं। निरन्तर हल्लाएर यसरी छिनछिनमा झट्का दिदा पनि हामी सुरक्षा र सचेतनामा अझै उदासिन जस्तो देखिएका छौं। यो आफैमा ठूलो विडम्बना हो। यसको अर्थ के पनि हो भने अर्को सामान्य विपत्ति सामाना गर्ने क्षमता र साहस पनि हामी विस्तारै गुमाउँदै गएका छौं।