काठमाडौंः सरकारले देशमा औद्योगिक विकासलाई पूर्ण गति दिने बताइरहेका बेला उद्योग क्षेत्रको योगदान भने घटेर गएको छ । यो आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योदान लगातार घटेको देखिएको छ । २० वर्षयता लगातार घटेर गार्हस्थ्य उत्पादनमा ५ दशमलव ४ प्रतिशत मात्र योगदान हुने आर्थिक सर्वेक्षणले देखाएको छ । यसको कारण के होला ? यसले भविष्यका लागि कस्तो संकेत गर्ला ? बहसको विषय हो ।

नेपालको आद्योगिक क्षेत्र प्रजातन्त्र पुनःस्थापनपछि प्रसार हुन थालेको हो । त्यसको केही वर्षपछि नै २०५२ देखि माओवादी द्वन्द्व सुरु भयो । यसपछि उद्योग क्षेत्र राजनीतिबाट प्रभावित हुन थालेको हो ।


। माओवादी तथा अरू राजनीतिक पार्टीहरूलाई दिनुपर्ने सहयोग, लेभीले गर्दा उद्योग क्षेत्र प्रभावित बन्न थाल्यो । अर्को, टाठाबाठा उद्योगी तत्कालीन राजनीतिको फाइदा उठाएर माथि उठ्न सफल भए । अन्य समग्र उद्योग क्षेत्र भने प्रभावित बन्न पुग्यो । शान्ति स्थापना भएपछि उद्योग क्षेत्रले केही त्राण पाए पनि राजनीतिक क्षेत्रलाई तिर्नुपर्ने आर्थिक सहयोग बढेर गयो भने विभिन्न नाममा बन्द हड्ताल भइरहँदा उद्योग क्षेत्र झन्–झन् प्रभावित हुँदै गयो । ऊर्जा आपूर्तिको कमीले गर्दा पनि उद्योग फस्टाउन सकेनन् ।

लामो समय निजी क्षेत्र प्रभावित बनिरहने अवस्थाले उद्योग–व्यवसायीहरूले त्यसको विकल्प खोज्न थाले । त्यो विकल्प अत्यावश्यक क्षेत्र मानिने विद्यालय र स्वास्थ्य संस्थामा लगानी बढाए । यी क्षेत्र अहिले नीतिगत रूपमा अस्पष्ट छन् । यी सेवा क्षेत्र हुन् कि उद्योग ? कुनै उद्योगले भन्दा ठूलो आम्दानी हुन्छ, यी संस्थाले सेवाका लागि आमसर्वसाधारणबाट ठूलो धनराशि उठाउँछन् तर उद्योगमा नदरिएपछि सरकारलाई थोरै मात्र कर तिरे पुग्छ ।

अर्को विकल्प उद्योगी व्यवसायीका लागि व्यापार बन्न गएको छ । अहिले नेपालीको प्रतिव्यक्ति आय बढेर गएको छ । यसको कारण विदेशिने युवाले ठूलो रकम पठाउन थालेका छन् । उनीहरूका परिवारको खर्चको दरमा वृद्धि भएको छ । ती परिवार विलासी सामग्रीको उपभोगमा पनि बढेर गएको छ । कतिपय वस्तु त अहिले विलासीका रूपमा प्रयोग नभएर अत्यावश्यक बन्न पुगेका छन् । यही अवस्थालाई ख्याल गरेर अहिले नेपालका उद्योगीहरूले आफ्नो लगानी व्यापारमा गरेका छन् । उनीहरू अन्तर्राष्ट्रिय कम्पनीका उत्पादनका नेपाली व्यापार प्रतिनिधिका रूपमा काम गर्न थालेका छन् । यसबाट उनीहरूको कारोबार बढिरहेको छ ।

उता उद्योगमा अझै पनि अश्चितता हटेको छैन । अहिले सामान्य कामदारदेखि प्राविधिक जनशक्ति पाउन कठिन छ । ऊर्जा अब सरल हुन थाले पनि अझै व्यवस्थित हुन सकेको छैन । अर्को, उद्योग क्षेत्र राजनीतिबाट मुक्त हुने अवस्था छैन, पार्टीहरूको खर्च बढ्दै जाँदा राजनीतिबाट मुक्त हुने कुरै भएन । अन्तर्राष्ट्रिय व्यापारमा पनि अनकौं अवरोधहरू छन् जसलाई सरकारले समाधान गर्न सकेको छैन । यसले गर्दा पनि उद्योगीहरू व्यापारी बन्न पुगेका हुन् ।

अब सरकार बहुमतको बनेको छ । सरकारले उद्योगलाई प्रोत्साहन गर्ने त बताएको छ तर वाम सरकारले समाजवादी अर्थतन्त्र सुरु गर्ने बताउँदैे कतिपय बन्द भएका वा चल्न कठिन भएका सरकारी उद्योग पुनः सञ्चालन गर्ने बताउँदा निजी उद्योगीका लागि कस्तो व्यवहार गर्ने हो निश्चित छैन । यसले पनि व्यापारी उद्योगी पुनः उद्योगलाई गति दिन उत्साहित हुन कठिन छ ।