काठमाडौंः राजनीतिक संक्रमण सिद्धिएर देश स्थायित्वतिर लाग्ने आशा गरिरहेको अवस्थामा व्यापार घाटा भने लगातार बढिरहेको छ । यति मात्र होइन देशले प्राप्त गर्ने समग्र आय र समग्र निर्यातबीचको अन्तर (शोधनान्तर) घाटा पनि बढ्दै गएको छ । यस्तो स्थिति लगातार रहनु अर्थतन्त्रका लागि खतरा भएको विज्ञहरूले बताएको छन् ।

विगतमा नेपालको व्यापार घाटा नेपाली युवाले विदेशमा कमाएर पठाउने रेमिट्यान्सले थाम्दै आएको थियो । त्यसले गर्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको थिएन । राष्ट्र बैंकको तथ्यांक अनुसार यो आर्थिक वर्षको ९ महिनामा ५ खर्ब ४० अर्ब ३८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ भने सोही अवधिमा व्यापार घाटा अत्यधिक बढेर ८ खर्ब १६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।


। हुन त यो रेमिट्यान्स आय अघिल्लो वर्षको सोही अवधिको भन्दा ५ दशमलव ६ प्रतिशतले बढी हो तर लगातारको आयातमा भएको वृद्धिले गर्दा यसले व्यापार घाटा नथेग्ने अवस्था आएको हो । व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको भन्दा २२ प्रतिशतले बढी हो । देशमा भित्रिएको रमिट्यान्स आयभन्दा व्यापार घाटा २ खर्ब ७६ अर्बले बढी छ । यो अवस्था अर्थतन्त्रका लागि राम्रो नभएको विज्ञहरूको भनाइ छ । उनीहरूले अर्थतन्त्रमा ठूलै चुनौती आएको पनि बताएका छन् ।

गत चैतसम्म ८ खर्ब ७६ अर्ब २९ करोड रुपैयाँ बराबरक वस्तु आयात भएक छन् । त्यस्तै ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यो वर्ष अलैंची, धागो, पोलिस्टर यार्न, अदुवा, तारलगायत वस्तुको निर्यात बढेको छ । जुस, जीआई पाइप, ऊनी गलैंचा, पस्मिनालगायत वस्तुको निर्यात घटेको छ । यो अवधिमा पेट्रोलियम पदार्थ, मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन र तिनका पार्टपुर्जा, सिमेन्ट, हटरोल सिटइन क्वाइललगायत वस्तुको आयात बढेको देखिन्छ । कृषि औजार तथा तिनका पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरी वेयर्स, सानो अलैंची, जिंक इनगोटलगायत वस्तुको आयात घटेको जनाइएको छ ।

यो आर्थिक वर्षको ९ महिनामा भारततर्फको निर्यात ६ दशमलव ९ प्रतिशत, चीनतर्फको ५८ दशमलव ९ प्रतिशत र अन्य मुलुकतर्फको ७ दशमलव १ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख
गरिएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार फागुनसम्म धेरै ठूलो रूपमा रहेको शोधनान्तर घाटा अर्थात् देशले प्राप्त गर्ने समग्र आयभन्दा बाहिर दिनुपर्ने व्यय चैतमा केही सुधार भए पनि १४ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष भने सोही अवधिमा ५० अर्ब ६० करोड रुपैयाँ बचतमा थियो । आयातमा भएको उच्च वृद्धि, घट्दो रेमिटयान्स र विदेशी लगानीको लाभांश भुक्तानीमा भएको उच्च वृद्धिलगायत कारण गत फागुनमा शोधनान्तर स्थिति २४ अर्ब ७३ करोड रुपैयाँ घाटामा थियो ।

राष्ट्र बैकका अनुसार २०७३ पुसदेखि घाटामा रहँदै आएको चालु खाताले बाह्य क्षेत्र सन्तुलनमा चुनौती थपेको छ । अघिल्लो वर्षको पहिलो ९ महिनामा १० अर्ब ३४ करोडले घाटामा रहेको चालु खाता गत चैतमा बढेर १ खर्ब ७१ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालु खाता उच्च घाटा भएको राष्ट्र बैंकले आफ्नो तथ्यांकमा उल्लेख गरेको छ ।

यो आर्थिक वर्षको ९ महिनामा मूल्यवृद्धि केही बढे पनि आत्तिनुपर्ने अवस्थामा छैन । यो अवधिमा मूल्यवृद्धि ५ दशमलव ३ प्रतिशत छ जुन राष्ट्र बैंकको प्रक्षेपणभन्दा कम छ । राष्ट्र बैंकले मूल्यवृद्धि ७ प्रतिशतभित्र राख्ने प्रक्षेपण गरेको थियो ।

लगातारको आयात वृद्धिले व्यापार घाटा बढ्दै जानु र त्यसलाई थेग्ने स्रोत कमजोर हुँदै जानु अर्थतन्त्रका लागि अप्ठ्यारो अवस्था हो । यसलाई लामो समय रहन दिनुहन्न । यसलाई नियन्त्रण गर्न र आर्थिक स्थायित्वका परिसूचकलाई खल्बलिन नदिन राष्ट्र बैंकले  मौद्रिक नीतिको कार्यदिशा समायोजन गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।