भक्तपुरः मध्यपुर थिमिस्थित शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरी नेपाल सम्वत् ११४१ मनाइँदैछ ।

नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाको प्रतिमामा शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतले मध्यपुर थिमिको शंखधर चोकमा माल्यार्पण गरी नेपाल सम्वत् मनाइँदैछ ।

प्रत्येक वर्ष शंखधर चोकमा रहेको नेपाल सम्वत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरिँदै आएको छ ।

माल्यार्पण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपाल सम्वत् एकल जातिको मात्र नभई सबै नेपालीहरुको मौलिक सम्वत् भएको बताए ।

उनले अहिले यो सम्वत्लाई सरकारले राष्ट्रिय सम्वत् घोषणा गरेता पनि नेपालीहरुले अपनत्व गर्न नसकेकाले यो सम्वत नेवार समुदायको मात्र भनेर मात्र गलत बुझाई रहेकाले यसलाई चिर्नु पर्ने बताए ।



विगत केही वर्ष यता भाइटिका र किजा पूजा भनेर तिथी घटबढ भनेर दुई दिन मनाइने प्रचलनलाई आगामी वर्षदेखि समायोजन गरेर मिलाउने उनको भनाइ छ ।

कार्यक्रममा संघीय सांसदद्वय भीमसेनदास प्रधान र महेश बस्नेत, बागमति प्रदेशका सांसद डा. राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ लगायतले राष्ट्रिय विभुति साख्वाले पुर्‍याएको योगदानको सम्झना गर्दै साख्वाले जस्तै देश र जनताको पक्षमा काम गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत ११४१ को उपलक्ष्यमा पठाइएको सन्देश पत्र पढेर सुनाइएको थियो ।


प्रकाशित मितिः २०७७ साल मंसिर १ सोमबार, १२:३२