काठमाडौंः आज बैशाख १२, शक्तिशाली भूकम्प गएको ५ वर्ष पूरा भएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गएको आज ५ वर्ष पूरा भएको हो ।

भूकम्पका कारण काडमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा, रसुवा, धादिङसहितका जिल्लामा बढि क्षति भयो । अति प्रभावित १४ र कम प्रभावित १८ गरि ३२ जिल्लामा झण्डै ८ लाख नागरिकले भूकम्पको प्रत्यक्ष मारमा परे ।

भूकम्पमा परि कम्तिमा ८ हजार ७९० जनाले ज्यान गुमाए । झण्डै २२ हजार नागरिक घाइते भए । भत्केका घरको पुनर्निर्माणमा समेत निर्धारित लक्ष्य अनुसार काम हुन सकेन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको जनाएको छ ।


प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १४५ अर्थात् २५ प्रतिशत लाभग्राही पुनर्निर्माणको चरणमा रहेकोसहित समग्रमा ८८ प्रतिशत भएको जानकारी गराएको हो ।

प्राधिकरणले अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या ५ लाख ६१ हजार ६५० अर्थात ७२ प्रतिशत पुगेको जनाएको छ ।

हाल कोभिड १९ अर्थात् कोरोना भाइरसको महामारीले विश्वव्यापीरुपमा प्रभाव पारेको र नेपालमा पनि एक महिनादेखि बन्दाबन्दी (लकडाउन) जारी रहेकाले पुनःनिर्माणमा असर परेको प्राधिकरणले जनाएको छ ।

फाइल तस्विर


प्रकाशित मितिः शुक्रबार, वैशाख १२, १०:५८