काठमाडौंः काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ९२ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट शनिबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ८७ जना, लेन उल्लंघन गर्ने २३ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने १ सय ४० जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने १६ जना, टिपर कारबाहीमा १ सय १७ जना, सिसिटिभीमार्फत कारबाही ५६ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ३० जना, अनावश्यक हर्न बजाउने २९ जना, ब्हील लकबाट ५५ जना र अन्य १ हजार १ सय ३९ जना गरी जम्मा १ हजार ६ सय ९२ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा शनिबार २५ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा २ जनाले ज्यान गुमाएका छन् भने १ जना गम्भीर घाइते र ११ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार शनिबार १३ हजार ७ सय ७४ सवारी साधनबाट ८८ हजार ७ सय १९ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने ११ हजार ९ सय ९२ सवारी साधनबाट ८० हजार २ सय ८२ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः आइतबार, फागुन २५, ०६:५५