काठमाडौंः टिकाको पाँचौ दिन आज पनि आफन्त र मान्यजनको हातबाट टिका लगाउने क्रम जारी छ ।

विजयादशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउन नभ्याइएका आफन्तजनकहाँ कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा थाप्न जाने प्रचलन छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ ।

परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । दशैको टिकामा आफूभन्दा ठूलाबडा, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ ।


दशैंमा टाढा–टाढाका आफन्तजनहरु पनि समयमा नै सकेसम्म सबै आफन्तहरु कहाँ पुग्ने गर्दछन् । मंगलबारदेखि टाढाका आफन्तसँग टीका थाप्न जान मानिसहरुलाई चटारो नै हुने गरेको छ ।

 


प्रकाशित मितिः शनिबार, असोज २५, ०६:१७