काठमाडौंः काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ४ सय ३ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट शनिबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय १० जना, लेन उल्लंघन गर्ने ९ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ४२ जना, टिपर कारबाहीमा १४ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ८० जना, अनावश्यक हर्न बजाउने २६ जना, ब्हील लकबाट ३६ जना र अन्य १ हजार ८६ जना गरी जम्मा १ हजार ४ सय ३ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा शनिबार २९ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन् भने ११ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार शनिबार २० हजार ३ सय ३७ सवारी साधनबाट १ लाख ३२ हजार १ सय ५९ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने २१ हजार ८ सय ९७ सवारी साधनबाट १ लाख ५३ हजार ३ सय जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः आइतबार, पुस २७, ०६:३४