काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौं शहीदको बलिदानीपछि प्राप्त गणतन्त्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धरापमा पारेको आरोप लगाएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा २६ औं जनयुद्ध दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले शहीदको रगतले लेखेको संविधान नै धरापमा लाने कोशिस गरेकाले त्यसकाविरूद्ध लड्नु पर्ने अवस्था आएको बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री भएको बेला आफूले जनयुद्ध र जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरे पनि केही प्राविधिक कमजोरी भएकाले अहिलेसम्म सो निर्णयले औपचारिकता पाउन नसकेको उनले बताए ।


। उनले त्यसलाई औपचारिक स्वरुप दिने र सबै सहिदहरुलाई सम्मान गर्ने कुरा निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाए ।

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने, देशमा राजनीतिक स्थायित्व र विकास तर्फ लैजाने जमर्को गरे पनि दक्षिणपन्थी कित्ताबाट प्रहार भएको पनि उनले बताए ।

२५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालीन माओवादीहरुले यो दिवस मनाउँदै आएका छन् ।


प्रकाशित मितिः २०७७ साल फागुन १ गते शनिबार, १३:५५