काठमाडौंः शिक्षण स्वयंसेवकका लागि १३ हजार बढीले आवेदन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो शैक्षिक सत्रका लागि अंग्रेजी, गणित, विज्ञान र प्राविधिक धारतर्फ इन्जिनियरिङ विषयमा स्वयंसेवक शिक्षक पठाउने निर्णयअनुसार ती शिक्षकले आवेदन दिएका हुन् ।

आवेदन दिने शिक्षकको संख्या १३ हजार ३ सय ५४ जना रहेका छन् । शिक्षक स्वयंसेवक छनोट समितिका संयोजक एवं शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक अणप्रसाद न्यौपानेले शिक्षक छनोट गर्ने काम भइरहेको बताए ।

उनका अनुसार चैत तेस्रो साताबाट स्वयंसेवक शिक्षक खटाउने गरी तयारी भइरहेको छ । कतिपयले दुईवटा स्थानीय तहमा आवेदन फाराम भरेको भेटिएको बताउँदै उपमहानिर्देशक न्यौपानेले अहिले ती शिक्षकको एक पालिकामा मात्र नाम सिफारिस गर्ने काम भइरहेको बताए ।


समितिले आवेदकको नाम छनोट गरी स्थानीय तहको समन्वयमा स्वयंसेवक शिक्षक छनोट गर्नेछ । एक शैक्षिक सत्रका लागि यो वर्ष करिब १ हजार ५ सय स्वयंसेवक शिक्षक छनोट हुनेछन् । यो समाचार आजको नेपाल समाचारपत्र मा छ ।


प्रकाशित मितिः बिहीबार, फागुन २९, ०७:२१