काठमाडौं:  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’को आज उद्घाटन गर्दै  प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार राम्रो प्रतिफल आउन नसकेको बताउनुभएको छ । यस कार्यक्रममा उहाँले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि राम्रो प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो ।

उहाँले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि कोहीसँग पनि सरकारले सम्झौता नगर्ने दृढता व्यक्त गर्नुभयो ।


“अहिले हामी देश विकास गर्न कस्ता जनशक्ति चाहिन्छ भनेर छलफल गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “अब हामी मुलुकलाई चाहिने जनशक्ति मात्र उत्पादन गर्छौं । ती जनशक्तिले आमाबुबाका साथै मुलुकको सपना पूरा गर्नेछन् ।”

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकारी, सामुदायिक र निजी क्षेत्र मिलेर नेपालको शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले अबको दुई वर्षभित्र विद्यालय नजाने बालबालिका मात्र निरक्षर रहने बताउनुभयो ।