वासिङ्टन:  आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ता निर्धारित समयमै हुने भएपछि वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ताको आन्तरिक तयारी सुरु भएका दुवैतर्फका अधिकारीहरुले जनाएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भएको भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि वार्ताको आवश्यक तयारी सुरु भएको जनाएको छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ट्वीट गर्दै भन्नुभएको छ  “अमेरिकाको एक प्रतिनिधिमण्डल आज उत्तर कोरिया पुगेको छ, यसले आगामी उक्त वार्ताको तयारीका आवश्यक कुराकानी गर्नेछ ।” उहाँले यस ट्वीटमा उत्तर कोरियाको निकै प्रसंशा पनि गर्नुभएको छ । उहाँले भन्नुभएको छ “मेरो अनुभवका आधारमा भन्दैछु कि उत्तर कोरियासँग आफ्नो देशको सम्पन्नताका लागि निकै ठूलो अवसर छ र यसबाट उसको अभूतपूर्व परिवर्तन हुन सक्छ ।”  उहाँले भन्नुभयो “यस विषयमा उत्तर कोरियाली नेता किम जोङ उन ‘कन्भिन्स’ हुनुभएको छ, यसबारे हामीले कुराकानी पनि गरिसकेका छौँ।”

यसअघि एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक भएको दुई दिनपछि शनिबार फेरि सोही मितिमै वार्ता हुनेमा आफू ढुक्क रहेको पनि राष्ट्रपति ट्रम्पले बताउनुभएको थियो । शनिबार साँझ ह्वाइट हाउसमा उपस्थित भएका सम्वाददाताहरुसमक्ष उहाँले भन्नुभयो “हामी पूर्व निर्धारित मितिमै वार्ता गर्नेमा ढुक्क भएका छौँ, जुन १२ मा नै हामी सिंगापुरमा भेट्नेछौँ, म उत्सुक छु र मलाई लाग्छ यसप्रति उत्तर कोरिया पनि इच्छुक छ ।”

उता दक्षिण कोरियाले भने उत्तर कोरियासँग वार्ताका लागि निकै दबाब दिएको थियो । उसले निर्धारित समयमै वार्ता गर्न उत्तर कोरिया र अमेरिकालाई आग्रह गरेको थियो । यसै प्रयास बमोजिम नै दक्षिण कोरिया र उत्तर कोरियाबीच शनिबार आकस्मात् भेटवार्ता भएको थियो । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तरका नेता किम जोङ उनबीच शनिबार सीमा क्षेत्रमा रहेको पानुमजोममा भेट भएको हो ।