भक्तपुरः शिव पार्वतीको रथ यात्रा चाँगुनारायण नगरपालिका–८ कलमसी कल्पेश्वर महादेव तथा कालिका मन्दिर धाममा मंगलबार विसर्जन गरिएको छ ।

ललितपुरको बालकुमारीबाट सुरु भएको रथ यात्रा चाँगुनारायण–८ कलमसी १०८ फिट अग्लो महादेव मन्दिर निर्माण स्थलमा विर्सजन गरिएको हो ।

शिव तान्त्रिक गुरु बुद्धि कुमार गुरुको सभापतित्वमा भएको विसर्जन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कृष्णलाल भँडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

हरेक वर्ष शिवरात्रीको पूर्वसन्ध्यामा पशुपती मन्दिरमा गरिँदै आएको शिव पार्वती रथ यात्रा यस वर्ष १०८ फिट अग्लो महादेव मन्दिर निर्माण कार्यलाई अगाडी बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कलमसीमा आयोजना गरिएको हो ।


मन्दिर निर्माणका लागि चाँगुनारायण नगरपालिकाले १० रोपनी सार्वजनीक जग्गाको अनुमति दिएको छ । मन्दिरको गुरु योजना निर्माण अन्तिम चरणमा रहेको र त्यो सम्पन्न हुने वित्तिकै सम्बन्धित निकायको अनुमतिमा निर्माण कार्य अगाडि बढाइने छ ।

कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजका अध्यक्ष शिव तान्त्रिक बुद्धिकुमार गुरुले सहयोग मन्दिर निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराइरहेका छन् । स्थानीय वासीको अगुवाईमा सरकारी तथा अन्य व्यक्तिगत तथा संस्थागत सहयोगबाट १०८ फिट अग्लो विराजमान महादेवको मन्दिर निर्माणका लागि पहल भइरहेको छ ।

धार्मिक पर्यटनको महत्व बढदै गएकाले अव स्थानीय स्तरमा रहेका कला, संस्कृति र मठ मन्दिरको विकासमा सहयोग पुर्‍याउनुपर्ने प्रदेश सभा सदस्य कृष्णलाल भँडेलले बताए । आफूले प्रदेश क्षेत्र भित्रका महत्वका विषयहरुमा सक्दो सहयोग गर्ने साँसद भँडेलले बताए ।

निर्माणका लागि स्थानीय तहको तर्फबाट जग्गा व्यवस्थापन, मन्दिर निर्माण र संरक्षणमा सहयोग रहने चाँगुनारायण नगरपालिका–८ का वडा अध्यक्ष परासर सापकोटाले बताए ।

समाजसेवी रविन्द्र प्रताप शाहले समुदायको चाहना अनुसार निर्माण हुन लागेको मन्दिरलाई आफ्नो साथ र सहयोग रहने बताए ।


प्रकाशित मितिः २०७७ साल फागुन २६ गते बुधबार, ०७:१७