भक्तपुरः शुभकामना बचत तथा ऋण सहकारीले २० औं वार्षिक साधारण सभा बुधबार कार्यालयको भवनमा सम्पन्न भएको छ ।

सभामा गत आ.व. २०७६÷०७७ को प्रगति विवरण तथा आगामी वर्षको नीति र आर्थिक विवरण तथा अनुमानित बजेट, लेखा परिक्षण प्रतिवेदन र विभिन्न नीति नियम संशोधन समेत गरिएको थियो ।

७५ जना स्थानीयको प्रति व्यक्ति रु १० हजार शेयर पूँजीबाट वि.सं. २०५८ जेठ २४ गतेबाट शुरु भएको यस संस्थामा हाल ८ हजार १०९ जना सदस्यहरु रहेका छन् । संस्थाको हाल ९ करोड ३८ लाख ८ हजार ५०० शेयर पूँजी रहेको छ ।

आजको आवश्यकता सुरक्षित लगानी, सुरक्षित लगानीको लागी शुभकामना भन्ने मुल नाराका साथ सदस्यहरुको हितलाई सदैव प्राथमिकतामा राखी सहकारीको सर्वव्यापी सिद्धान्त, मुल्य मान्यताको आधारमा सञ्चालित यस संस्थाले २०६५ सालमा जिल्लाकै उत्कृष्ट सहकारीको पुरस्कार हात पारेको थियो ।


त्यसैगरी, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) बाट प्रदेश नं. ३ को उत्कृट सहकारी संस्थाको रुपमा समेत सम्मानित भइसकेको छ । त्यस्तै २०७०, ७१ र ७२ सालमा गरी लगातार ३ पटक राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित प्रभातभेरी कार्यक्रममा उत्कृष्ट सहभागीको सम्मान प्राप्त गरेको छ ।

संस्थाले एशियाली ऋण महासंघबाट एक्सेस सिल्वर ब्राण्ड २०१६ प्राप्त गर्न सफल भएको छ भने पुनस् एक्सेस सिल्भर ब्राण्ड २०१७ प्राप्त गर्न सफल भएको छ ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष न्हुछे कुमार त्वायनाले विश्वव्यापी महाममारीको रुपमा फैलिएको कोभिड–१९ को कारणले गर्दा संस्थले गत साधारण सभामा राखेका प्रस्तावित नीति तथा कार्यक्रम र वित्तीय कारोबार पुरा गर्न नसकेको बताउँदै आगामी नयाँ कार्यसमितिले त्यसलाई पूरा गर्दै अगाडि बढ्नेमा विश्वस्त रहेको बताए ।

संस्थाका सचिव निर्मला सुवालले कोभिड–१९ को महामारीमा सरकारद्वारा लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञामा समेत आफ्ना सदस्यहरुको दैनिक उपभोग्य सामान तथा औषधी उपचारको लागि हुने नगदको आवश्यकतालाई पूर्ति गर्न कर्मचारीहरुको सम्पर्क नम्बर दिई घरदैलो सेवा दिएको बताइन् ।

संस्थाका कोषाध्यक्ष नारायण बहादुर बमसुकलाले संस्थालाई प्रविधियुक्त सदस्यमैत्री, उत्कृष्ट वित्तिय सहकारी बनाउने परिकल्पना गरे अनुसार विगतका वर्षहरुबाट नै संस्थाको क्षमता अभिवृद्धि गर्दै लगेको र आगामी वर्षमा समय सापेक्ष आधुनिकरण गर्दे जाने संस्थाको लक्ष्य रहेको बताए ।

संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक पुष्पराज तिमिलाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।


प्रकाशित मितिः २०७७ साल पुस २३ गते बिहीबार, १२:११