पर्साः वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट इलाकाबाट आज एपीएफ टोलीले श्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित एक जना भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका–२१ घर बताउने ३६ वर्षीय राजेशकुमार साह रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।


प्रकाशित मितिः २०७७ साल फागुन २९ गते शनिबार, १७:२७