काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोनाका कारण संकटमा परेको मुलुकलाई कम्युनिष्ट सरकारले कुनै नयाँ योजना दिन नसकेको बताएका छन् ।

सामाजिक लोकतन्त्रका लागि ऐक्यवद्धता नेपालले आयोजना वीपीको प्रजातान्त्रीक समाजवाद र आगामी महाधिवेशन विषयक कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले सरकारले रेल पानी जहाजका सपना बाँडेर जनताबाट भोट पाएपनि संकटका बेलामा जनतालाई जोगाउने भन्दा कुर्सी जोगाउन लागेर असली चरित्र देखाएको बताए ।

उनले नेपाली कांग्रेसले अबलम्बन गरेको प्रजातान्त्रीक समाजवाद गरिब नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको बताए ।


। गरिबलाई धनी बनाएर धनी र गरिबबीचको दुरी कम गर्ने वीपी कोइरालाको प्रजातान्त्रीक समाजवादी चिन्तन भएको महामन्त्री कोइरालाको भनाई थियो ।

महामन्त्री कोइरालाले कांग्रेसको संगठनलाई एकताबद्ध बनाउन र आम नेता कार्यकर्तामा उर्जा थप्नका लागि पनि १४ औं महाधिवेशन आवश्यक भएको बताउँदै महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको स्पष्ट पारे । उनले महाधिवेशनका लागि नयाँ संरचना अनुसारको समायोजनको काम, क्रियाशील सदस्यताको काम सकेपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताए ।

१४ औं महाधिवेशनले कांग्रेसमा नयाँ सन्देश र नयाँ उर्जा थप गर्ने कोइरालाको भनाई थियो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा वीपी कोइरालाले परिकल्पना गरेको समाजवादी व्यवस्थालाई समेटिएको बताए ।

उनले कम्युनिष्टहरुले समाजवाद उन्मुख समाजवाद उन्मुख भन्ने गरेकाले धेरैमा भ्रम परेको भन्दै वीपी कोइरालाले परिकल्पना गरेको जस्तै समाजवादलाई संविधानमा व्यवस्था गरेको बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी, किरण यादवले पनि वीपी कोइरालाको प्रजातान्त्रीक समाजवादका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री मनोजमणी आचार्यले संचालन गरेको कार्यक्रममा नेविसंघका पूर्वमहामन्त्री प्रतिमा गौतमले सहभागिहरुलाई स्वागत गरेकी थिइन भने नेविसंघ कै पूर्वउपाध्यक्ष प्रमोदहरी गुरागाँईले वीपीको प्रजातान्त्रीक समाजवाद र आगामी महाधिवेशनका विषय विषय प्रवेश गराएका थिए ।


प्रकाशित मितिः मंगलबार, असार २३, २०७७, २१:३९