काठमाडौंः संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) को आन्तरिक अवस्था ‘भद्रगोल’ बन्दै गएको छ । भद्रगोल अवस्थाकै कारण जनताबीच पार्टी कमजोर र प्रभावहीन बन्न थालेको छ ।

७ वैशाख २०७४ मा विभिन्न ६ पार्टी मिलेर बनेको राजपा नेपालमा पार्टी सञ्चालनका लागि विधानसमेत अभाव छ । पूर्ण विधान नभएकै कारण सो पार्टी विधिवत रूपमा सञ्चालन हुन सकेको छैन ।

पार्टी एकीकरण गर्दैगर्दा नेताहरूले एक वर्षभित्र एकता महाधिवेशन गर्ने उद्घोष गरेका थिए । तर, एकीकरण भएको एक वर्ष बितिसक्दासमेत अधिवेशनको तयारीसमेत हुन सकेको छैन । पार्टी पनि एकीकरणअघि रहेका ६ पार्टीका अध्यक्षको ‘सिन्डिकेट’कै आधारमा सञ्चालन भइरहेको छ ।


संघीय संसद्मा चौथो ठूलो दलका रूपमा रहेको राजपा नेपालले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतकलगायतका पदाधिकारीसमेत छनोट गर्न सकेको छैन । आन्तरिक विवाद, विधान अभावका कारण पदाधिकारी छनोट गर्न नसकिएको हो ।

संसदीय दलको नेता बन्नका लागि अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले लबिङ गरिरहेका छन् । यी दुई नेताबीचको टकरावका कारण राजपा नेपालले संसदीय दलको नेता छनोट गर्न नसकेको हो । दलको नेता छनोट गर्न अध्यक्षमण्डलको बैठक एक महिनाअघि बसे पनि छनोट गर्न सकेन । उता, पछिल्ला दिनमा ठाकुर स्वयं बिरामी परेपछि बैठक वा छलफलसमेत हुन सकेको छैन ।

ठाकुरनिकटका एक नेता अध्यक्षमण्डलका संयोजक ठाकुर भएकाले उनलाई नै सर्वसम्मत नेता चयन गरी पार्टीलाई बलियो बनाउनुपर्ने बताउँछन् । तर, महतोनिकटका नेता पार्टीलाई तीव्र रूपमा अघि बढाउन संसदीय दलको नेता महतो हुनुपर्ने बताउँछन् । पार्टीलाई बलियो बनाउँदै संसद्मा खरो रूपमा उत्रिनका लागि महतो दलको नेता नभइनहुने अवस्था रहेको उनीहरूको तर्क रहेको छ ।

राजपा नेपालबाट प्रतिनिधिसभामा प्रत्यक्ष्यतर्फ निर्वाचन जितेका ११ सांसदमध्ये पाँच सांसद पुरानो सद्भावना पार्टीका हुन् । महतो, लक्ष्मणलाल कर्ण, प्रमोद साह, रेशम चौधरी, चन्द्रकान्त चौधरी पुरानो सद्भावनाका भएकाले यिनीहरू महतोको पक्षमा छन् ।

ठाकुर र एकबाल मियाँ पुराना तमलोपाका छन् । बाँकी चार सांसद शरतसिंह भण्डारी, महेन्द्रराय यादव, राजकिशोर यादव, अनिलकुमार झा पुराना चार पार्टीका अध्यक्ष हुन् । महेन्द्र राय यादवले सर्वसम्मत नभए ठाकुरलाई समर्थन गर्ने बताइएको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ राजपा नेपालले पाएका ६ सांसदमा दुई ठाकुरको र दुई महतोको पक्षका सांसद छन् । चन्दा चौधरी र दुलारीदेवी खाँण ठाकुरनिकटका र अमृता अग्रहरी र नरमाया ढकाल महतो निटकका सांसद हुन् । बाँकी दुईमध्ये निर्जला राउत भण्डारीनिकटका र रानी मण्डल झानिकटका सांसद हुन् ।

राजपा नेपालको संसदीय दलको नेता छनोटमा भण्डारी, झा र यादवको निर्णायक भूमिका रहेको छ । तर, उनीहरू अझै कतै खुलेका छैनन् । खुल्न नसकेका सांसदलाई आफ्नो पक्षमा पार्नका लागि ठाकुर र महतो लागिपरेका छन् ।

उता, विधान निर्माणका लागि सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा समिति बनेको लामो समय बितिसकेको छ । तर, विधानलाई पारित गर्नसमेत पार्टी बैठक बस्न सकेको छैन ।
‘पूर्ण विधानको अभावका कारण पार्टीको बैठकसमेत बस्न सकेको छैन, जसका कारण महत्वपूर्ण कामहरू प्रभावित भएको छ ।

राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले भने, ‘तर पार्टीको अवस्था सधैं यस्तै हुन्छ भन्ने छैन, केही समयभित्रै पार्टी तीव्र गतिमा काम गर्दै अगाडि बढ्छ ।’ अध्यक्षमण्डलको सामूहिक निर्णयकै आधारमा पार्टी चलिरहेको उनले बताए ।

अध्यक्षमण्डलका संयोजक ठाकुर बिरामी भएपछि पार्टीको अवस्था पनि बिरामीजस्तै भएको छ । ठाकुर बिरामी हुनु, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलगायतका कारण पार्टीको बैठक हुन नसकेको राजपा नेपालका महासचिव केशव झाले बताए । ६ महिनाभित्रै पार्टीको महाधिवेशनलगायतका महत्वपूर्ण कामहरू तीव्र रूपमा हुने उनले बताए ।

६ पार्टी मिलेपछि हालसम्म केन्द्रीय कमिटी बैठक एकपटक मात्र भएको छ । पार्टीमा पनि अध्यक्षमण्डलको सिन्डिकेटजस्तै रहेको र सोहीअनुसार सञ्चालन भइरहेको एक नेताले बताए । पार्टी निर्णय ६ जना अध्यक्षले गर्ने गरेको उनले बताए ।

राजपा नेपालका महासचिव अजय गुप्ताले आफूहरूले पार्टी बैठकको माग गरेको बताए । विधिविधानअनुसार पार्टी सञ्चालन गर्दै आधिकारिक निर्णयका आधारमा अगाडि बढ्नुपर्ने बताउँदै उनले छिट्टै पार्टीको बैठक बस्ने बताए ।

पार्टी सञ्चालन ६ अध्यक्षको सामूहिक निर्णयको आधारमा सञ्चालन भए पनि आगामी दिनमा महाधिवेशनपश्चात् सोहीअनुसार तीव्र गतिमा हुने महासचिव गुप्ताले बताए । पार्टीमा धेरै कुरा निर्माणाधीन अवस्थामा रहेकाले भद्रगोलजस्तो देखिए पनि वास्तवमा त्यस्तो नभएको उनले जिकिर गरे । राजधानी दैनिकमा समाचार प्रकाशित छ ।