काठमाडौँः संघीय संसद्को बजेट अधिवेशन आज ४ बजे देखि सुरु भएको छ ।
बैठक प्रारम्भ हुनासाथ सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी थिइन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, कानुनमन्त्री शेरबहादुर तामाङले संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेश, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश प्रस्तुत गरेका थिए।


त्यस्तै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गरेका थिए।