काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रसँग संयुक्त रुपमा हेभी इक्विपेन्ट लिजिङ कम्पनी खोल्न प्रस्ताव गरेका छन् । देशमा पूर्वाधार विकासका लागि आधुनिक हेभी इक्विपमेन्टको अभाव रहेको ठहर गर्दै सरकारले निजी क्षेत्रसँग साझेदारी गर्न खोजेको हो ।

अर्थमन्त्री युवराज खतिवडाका अनुसार यसमा निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको छ र यसका लागि थप छलफल गरेर अघि बढ्ने तयारी अर्थ मन्त्रालयको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा लिजिङ कम्पनी खोल्न सकिए देशमा आधुनिक पूर्वाधारहरुको विकासमा महत्वपूर्ण योगदान पुग्ने अर्थमन्त्री खतिवडा बताउँछन् ।


अर्थमन्त्री खतिवडाले  निर्माण व्यवसायले  क्षमता धान्न नसक्दा समस्या निर्माण कार्यमा समस्या देखापरेको बताएका छन् । धेरै ठेक्का लिने अनि क्षमता र मेसिन औजार नपुग्ने जस्ता समस्याहरु देखिन्छन् । मन्त्री खतिवडाले भने, ‘यी सबै कुरालाई ध्यानमा राखेर संयुक्त रुपमा निर्माण सामाग्री लिजमा दिने लिजिङ र परामर्श कम्पनी खोलौं भनेर मैले आह्वान गरेको हुँ ।’

अहिले ठूला पूर्वाधार निर्माण गर्दा भारत, युएई लगायतका मुलुकका कम्पनीबाट आधुनिक मेसिनरी भाडामा ल्याउनुपर्ने अवस्था छ । अग्ला भवनकै लागि जग खन्ने लगायतका प्रयोजनमा आवश्यक मेसिनरी नेपालका व्यवसायीसँग पनि छैन । सरकारसँग पनि आधुनिक निर्माण मेसिनहरु छैनन् । पूर्वाधारको विकासका लागि अब आधुनिक मेसिनरीको अभाव हटाउन सरकारले निजी क्षेत्रको साथ खोजेको हो । टनेलिङका लागि आवश्यक टीबीएम मेसिनसहितका आधुनिक उपकरण प्रस्तावित कम्पनीले ल्याएर भाडामा लगाउनेछ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा सरकारको प्रस्ताव सकारात्मक भएको बताउँछन् । आधुनिक पूर्वाधारहरुको निर्माणका लागि हेभी इक्विपेन्टको लिजिङ सेवा नेपालबाटै उपलब्ध गराउन सके त्यसले मुलुकलाई ठूलो लाभ मिल्ने शर्माको भनाइ छ । ‘अब यसमा गृहकार्य जरुरी छ । हामी पनि सरकारलाई यस्तो कम्पनी खोल्न भनिरहेका थियौं । यसवर्षको बजेटमै यो विषय आएको छ,’ शर्माले भने,’पूर्वाधारको विकासलाई अघि बढाउन यस्तो कम्पनी फलदायी सिद्ध हुन्छ ।’ शर्माका अनुसार यस्तो कम्पनीमा इक्विपमेन्ट मात्रै नभएर पूर्वाधार विज्ञहरुको पनि जरुरत पर्छ । त्यसैले कन्सल्टेन्सी पनि सँगै जोडेर कम्पनी बनाउनुपर्ने हुन्छ ।