काठमाडौं : प्रदेश २को प्रदेशसभाले संविधानसँग बाझिनेगरी प्रहरी ऐन ल्याउन लागेको प्रति नेपाल प्रहरीले गृह मन्त्रालयसँग आपत्ति जनाएको छ।

प्रहरी निकाय स्थापनाका लागि प्रहरी सेवा ऐन विधेयक प्रदेशसभामा पेस गरेपछि नेपाल प्रहरीको संरचना मुलुकको संघीय संरचनाअनुसार नै बनिरहेको र संघीय प्रहरी ऐनसमेत तयार हुँदै गरेको अवस्थामा प्रदेश २ ले हतारमा संविधानसँग बाझिनेगरी प्रहरी ऐन ल्याउन लागेको भन्दै आपत्ति जनाएको हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईलाई भेटेर सो विषयमा प्रहरीको धारणा स्पष्ट पारिसकेका छन्।


। संघीय प्रहरी ऐनको मस्यौदा केन्द्रमा छलफलकै क्रममा रहेको र अन्य प्रदेशले पनि संघीय प्रहरी ऐन नै कुरिरहेको अवस्थामा प्रदेश २ ले हतार गरेर प्रहरी सेवा ऐनको विधेयक प्रदेशसभामा पेस गरिसकेको छ।

‘ऐन ल्याउने, पास गराउने अधिकार प्रदेश सरकारलाई छ तर कस्तो विधेयक बन्यो भन्ने विषयले हामीलाई झस्काएको छ। त्यहाँ जे भइरहेको छ, त्यसबारे गृहमन्त्रीज्यू र सचिवज्यूलाई हाम्रो धारणा राखिसकेका छौं।

सुरक्षा निकाय भएकाले अली बढी नै गम्भीर बन्नुपरेको अवस्था हो’, प्रहरी प्रधान कार्यालय उच्च स्रोतले बताएको आजको नागरिक दैनिकमा समाचार छ।