देशको कानुन र व्यवस्थाका आधारमा मानिसले आफु कति सुरक्षित भएको महशुस गर्छ । कडा कानुन र उचित व्यवस्थापन भएका देशमा अपराधिक कार्य कम हुने गर्दछ भने फितलो कानुन र अनुचित व्यवस्थापनले अपराधिक कार्य बढ्न जान्छ । अमेरिकाकै उदाहरण लिने हो भने खुल्ला बन्दुकको व्यवस्थाले पटकपटक अपराधिक घटना घट्ने गरेका छन् । यस्तै अफगानिस्तानमा पनि सरकारी स्तरबाट उचित व्यवस्थापन नहुँदा दैनिक अपराधिक घटना घट्ने गरेको छ । यसरी देशको कानुन र व्यवस्थाले देशको सुरक्षामा ठूलो भूमिका खेल्ने हुँदा कानुन र व्यवस्थाका आधारमा नागरिकले कतिको सुरक्षित महशुस गर्छन् भन्ने संदर्भमा एक सर्वेक्षण गरिएको थियो ।


। उक्त सर्वेक्षण अनुसार नेपाल सुरक्षाको आधारमा संसारको ६८ औं स्थानमा रहेको जनाएको छ ।

अन्तराष्ट्रिय एजेन्सी ग्याल्लप इन्टरनेश्नलले कानुन र व्यवस्थाका आधारमा १४२ राष्ट्र माझ  गरेको सर्वेक्षण अनुसार नेपाल संसारको ६८ औं सुरक्षित देश भएको उल्लेख गरेको हो । उक्त सर्वेक्षणका अनुसार संसारको सबै भन्दा सुरक्षित राष्ट्र सिंगापुर रहेको छ ।

सर्वेक्षण अनुसार सुरक्षित राष्ट्रको पहिलो स्थानमा ९७ अंकसहित सिंगापुर, दोश्रोमा र तेश्रोमा समान ९३ अंक सहित नर्वे र आइसल्यान्ड रहेको छ भने ४४ अंक प्राप्त भएको भेनेजुएलालाई असुरक्षित राष्ट्र मानिएको छ । यस्तै ४५ अंक सहित अफघानिस्तान असुरक्षित राष्ट्रको दोश्रो स्थानमा रहेको छ । उक्त सर्वेक्षण अनुसार भेनेजुएलाका नागरिकलाई आफ्नै देशकै प्रहरीदेखि समेत डर भएको उल्लेख गरेको छ ।

सर्वेक्षण अनुसार छिमेकी राष्ट्र भारत २९ स्थानमा रहेको छ भने चीन १३ औं स्थानमा रहेको छ । यस्तै म्यानमार ३०, बंगलादेश ४७ र श्रीलंका ५४ औं स्थानमा रहेका छन् । अमेरिका भने  सूचीको ३५ औं स्थानमा रहेको छ ।

उक्त सर्वेक्षण अनुसार संसारका ६९ प्रतिशत नागरिकलाई आफ्नो देशको प्रहरी माथी विश्वास रहेको र ६८ प्रतिशत नागरिकले रातको समयमा हिड्न सुरक्षित महशुस गर्ने उल्लेख गरिएको छ ।