काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियमको सचेतना तथा पालनाको लागि ट्राफिक नियम लेखिएका प्लेकार्डहरु काठमाडौं उपत्यकाका सडकमै देखाउने थालेको छ ।

बुधबारदेखि उपत्यकाको व्यस्त चोकहरुमा सवारी चालकहरुलाई लक्षित गरि ट्राफिक नियम लेखिएको प्लेकार्ड देखाउने काम सुरु गरिएको हो ।

ट्राफिक नियम पालना नगरी लापरवाहीका साथ सवारी चलाउँदा दुर्घटना बढ्न सक्ने, ट्राफिक जाम बढ्ने र ट्राफिक व्यवस्थापनमा समेत असर पर्ने भएकाले सवारी कुदाईरहेका चालकहरुलाई सडकमै ट्राफिक प्रहरीले प्ले कार्डहरूमार्फत ट्राफिक नियम सिकाउन थालिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले दिए ।


सवारी साधनले तीव्र र अनियन्त्रित गतिका साथै गलत ओभरटेकका कारण हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले प्राथमिकताका साथ यो अभियान थालिएको महाशाखाका प्रमुख ढकालले बताए ।

काठमाडौं उपत्यकाका ४७ स्थानहरुमा ट्राफिक नियम लेखिएका प्लेकार्डहरु सवारी रोकिएका बेलामा देखाइने व्यवस्था मिलाईएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताए ।

यसका साथै सम्पूर्ण सवारी चालकहरु विशेष गरी मोटरसाइकल चालकहरुले जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालना गरी दाहिने साईडबाट मात्र ओभरटेक गरिदिन पनि महाशाखाले अनुरोध गरेको छ ।


प्रकाशित मितिः बिहीबार, फागुन २२, ०९:४५