काठमाडौंः सजीव प्राणी भएपछि मृत्यु स्वाभाविक छ । मृत्यु प्राणीका लागि प्राकृतिक हो । तर, अस्वाभाविक मृत्यु भयावह देखिन्छन् । त्यस्तै, मृत्यु वन्यजन्तुमा पनि देखिएको छ । पछिल्लोपटकको तथ्यांक हेर्दा प्राकृतिक कारणबाहेक मानव वन्यजन्तुबीचको द्वन्द्व, रोगको संक्रमण, चोरी सिकार, सडक दुर्घटना, एकापसमा आक्रमण, बाढी, पहिरो र करेन्ट लागेर वन्यजन्तुको अस्वाभाविक मृत्यु हुने गर्दछ ।

सबैभन्दा डरलाग्दो तथ्यांक के देखिन्छ भने वन्यजन्तुको अस्वाभाविक मृत्यु सवारी दुर्घटनाका कारण बढी रहेको छ । पछिल्लोपटक चोरी सिकारीका कारण वन्यजन्तुको लोप हुने क्रमभन्दा सडक दुर्घटनाजस्ता अस्वाभाविक मृत्युले गर्दा सबैलाई चिन्ता थपिदिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णु श्रेष्ठले बताए ।


‘पछिल्लो समय चोरी सिकारभन्दा पनि सडक दुर्घटनाका कारण वन्यजन्तुको मृत्यु हुने क्रम बढिरहेको छ । यसमा सोच्नुपर्ने बेला भएको छ’, उनले भने ।

पछिल्लो तथ्यांकअनुसार ३ सय ९१ वटा वन्यजन्तुको मृत्यु हुँदा सवारी दुर्घटनाका कारणले मात्रै १ सय २४ वटा वन्यजन्तुले मृत्युवरण गरेका थिए । यसमा संरक्षित वन्यजन्तुदेखि संरक्षित घस्रने प्राणी परेको विभागले जनाएको छ । विभिन्न संरक्षित क्षेत्रमा कृष्णसार १ सय १, चित्तल ८२, गैंडा ३०, अर्ना र चितुवा ११/११, बाघ ८, हात्ती ४, जरायो ६, अजिंगर ४ लगायत ३ सय ९१ वटा वन्यजन्तुको मृत्यु भएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


प्रकाशित मितिः आइतबार, फागुन १८, ०७:४०