काठमाडौंः कवाली शैलीको रोमान्टिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ ।

गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ बोलको कवाली फ्लेवरको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो ।

राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शव्दहरुले भरिपूर्ण गीत सुन्दा जति आनन्द आउँछ, त्यती नै मज्जा यसको आकर्षक म्युजिक भिडियोले दिन्छ ।

लोकप्रिय कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ ।


बिहेका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरारमा चलेको कवाली प्रस्तुत गरिएको म्युजिक भिडियोमा चक्लेटी हिरो पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन् । त्यसै गरी राजकुमारीको भूमिकामा सिक्कीमेली सुन्दरी छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ ।

केही म्युजिक भिडियोमा अभिनय गरीसकेकी छुकिला नेपाली रजतपटको ढोका ढकढक्याउने क्रममा यो गीतको म्युजिक भिडियोमा देखिएकी हुन् ।

भिडियोमा कविराज गहतराजले होटल याक एण्ड यतीलाई आलिसान दरवारको रुपमा प्रस्तुत गरेका छन् भने आउटडोर इनडोरमा सयभन्दा बढी कोरस कलाकारलाई लोभलाग्दो ढंगले प्रस्तुत गरेका छन् ।

भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन् । कोरियोग्राफीको कलामार्फत हरेकजसो फिल्मी गीतलाई धनी बनाउँदे आएका कविराज गहतराजको यो भिडियो पनि कुनै फिल्मी गीतभन्दा कम लाग्दैन । झकिझकाउ र चमक दमक प्रकाश व्यबस्थापनका साथ सुदीप बरालको छायांकन कलाले भिडियोलाई उत्कृष्ट बनाउन सघाएको छ भने आलिया गिरीको पहिरन डिजाइनले कविराजको दरवारभित्रको सांगितीक कार्यक्रमको परिकल्पनालाई सार्थक बनाउन सघाएको छ ।

गीतमा शव्द रचना अमृत खतिवडा (भाञ्जा भाई) तथा सत्यराज र स्वरुपराज आचार्य एवं संगीत संयोजन उदयराज पौडेलको रहेको छ । कैलाश राई (सिक्कीम) द्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिष फागोको रहेको छ ।

कविराज गहतराजले संगीतअनुसार लोकेशन र ड्रेस छनौट गरेको जनाउँदै यो भिडियो आफ्ना लागि चुनौति भएको बताए । ‘एकातिर जोनी जिपहरुको सटमा पलको डबल रोल गर्नु च्यालेन्ज थियो । अर्कोतिर सिक्कीमबाट आएको नयाँ अनुहारलाई प्रोफेसनलरुपमा प्रेजेन्ट गर्नु अर्को च्यालेन्ज थियो । निर्माताले केही कम्प्रोमाइज नगरेकाले मेरो करियरको सबैभन्दा बेस्ट भिडियो बनेको छ भन्ने लागेको छ’ कविराजले भने ।

गायक सत्यराज आचार्यले यो म्युजिक भिडियो आफुहरुको सांगितीक करियरमा आजसम्मकै सर्वोत्कृष्ट भिडियो बनेको बताए । ‘यसका उच्च आदरार्थी शव्द प्रयोग गरिएका छन्। रोयल तामझामका साथ सुटिङ गरिएको छ । हामीलाई प्रायः स्याड सङमा मन पराइएको थियो । धेरैपछि रोमान्टिक डान्सिङ नम्बर ल्याएका छौं’ उनको भनाई छ ।

‘यो हाम्रो ३ वर्षपछिको एलबम होे। वास्तवमा हामीले यो गीत अमेरिकाको सांगितीक यात्राका क्रममा बनाएका थियौं। यसको कम्पोजचाहिँ कवाली गजल टाइपको छ, एरेञ्जमेन्टचाहिँ मोडर्न डान्सिङ नम्बरमा गरिएको छ । लामो समयपछि आएको भएर हामीले मास र क्लासलाई ध्यान दिएका छौं’ स्वरुपराज भन्छन् ।

म्युजिक भिडियोका छायांकार सुदीप बराल गीतअनुसार निर्देशकको थिमसँग मिल्ने गरी भिडियो उतारिएको स्वरुपराजले बताए । निर्माता कैलाश राईले सिक्कीमको माया नेपालसँग जोड्ने सिलसिलामा यो गीत तथा यसको म्युजिक भिडियो तयार पारिएको र यस कार्यलाई निरन्तरता दिइने बताए। म्युजिक भिडियो ओएसआर डिजीटल युट्युब च्यानलबाट बिहीबार अपरान्ह सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल मंसिर ११ बिहीबार, १९:०९