काठमाडौंः अस्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले लगातार दोस्रो खेलमा जित निकालेको छ ।

आज बिहान भएको खेलमा होबर्ट हुरिकेन्सलाई ५२ रनले पराजित गर्दै मेलबर्नले लगातार दोस्रो जित निकालेको हो ।

यस अघि मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो ।

मेलवर्नले दिएको १६४ रनको लक्ष्य पछ्याएको होबर्ट १६ ओभरमा १ सय ११ रनमा अलआउट भयो ।

होबर्टका लागि क्लिभ रोजले सर्वाधिक ३२, कालेप जेवेलले २५ रन बनाए ।

मेलबर्नका हरिस राउफले ५, कप्तान ग्लेन म्याक्सवेल र एडम जाम्पाले २र२ तथा सन्दीपले १ विकेट लिए ।


यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

मेलबर्नका लागि मार्कोस स्टोनिसले ८१, निक म्याडिसनले ४० तथा बेन डन्कले १९ रन बनाए ।

हुरिकान्सका रीले मेरेडिथले ३ र कैस अहमदले १ विकेट लिए ।

जितसँगै मेलबर्नले २ खेलमा ४ अंक जोडेको छ । मेलबर्न तालिकाको दोस्रो स्थानमा रहेको छ ।


प्रकाशित मितिः आइतबार, पुस ६, १३:५१