काठमाडौं: नेपाल सरकारले सन् २०२० मा मनाउन लागेको नेपाल भम्रण वर्षको लोगो सार्वजनिक गरेको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा गठन गरिएको मूल समितिले शुक्रबार ५ उत्कृष्ट लोगोमध्येबाट काठमाडौं बौद्धका ग्राफिक डिजाइनर उद्धव रिमालले बनाएको लोगोलाई छानेको हो ।

‘अघिल्लो महिना १० दिनको म्याद राखेर बोर्डको फेसबुक पेजमार्फत लोगोका लागि सूचना आह्वान गरेका थियौं,’ बोर्डकी ब्रान्ड म्यानेजर श्रद्धा श्रेष्ठले भनिन्, ‘हामीलाई फेसबुकमार्फत १ सय ४५ वटा लोगो प्राप्त भएका थिए । तीमध्येबाट उद्धव रिमालले पठाएको लोगो उत्कृष्ट घोषणा गरिएको छ ।’ बोर्डले नेपाल चिनाउने तथा यहाँको प्रकृति, कला, संस्कृति झल्किने शैलीको लोगो आव्हान गरेको थियो ।


उनका अनुसार, उत्कृष्ट लोगोका लागि १ लाख रुपैयाँ पुरस्कार तोकिएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत सन् २०२० मा भिजिट नेपाल २०२० अभियान सञ्चालन गरी नेपाल घुम्न आउने पर्यटकको संख्या २० लाख पुर्‍याउने भनेका थिए ।