काठमाडौंः सभामुख कृष्णबहादुर महराले विभिन्न संसदीय समितिमा रहने सदस्यको नाम यथाशीघ्र उपलब्ध गराउन राजनीतिक दललाई आग्रह गरेका छन् ।

सिंहदरबारस्थित आफ्नै सचिवालयमा पत्रकारसँग आज कुराकानी गर्दै उनले एक साताभित्र संसदीय समितिले पूर्णता पाउने र शुक्रबारको बैठकमा केही समितिको गठन हुने सम्भावना रहेकोसमेत जानकारी दिए ।

सभामुख महाराले संविधान कार्यान्वयनका क्रममा आगामी असोज २ गतेभित्र धेरै ऐन जारी भइसक्नुपर्ने भएकाले सरकारलाई कानूनका विधेयक संसद्मा पठाउन पनि आग्रह गरे ।

नयाँ संविधान जारी भई लागू भएपछि पुराना कानूनको संशोधन तथा नयाँ कानून गरी संसद्मा १०० विधेयक आउनुपर्ने हुन्छ ।


। कानून पारित गर्नुपर्ने समयावधि अत्यन्त कम भएकाले सभामुख महराले सरकारलाई सो आग्रह गरेका हुन् ।

सदनमा आफूले सत्ता पक्ष र प्रतिपक्ष दुवैका आवाजलाई समान महत्व दिने भन्दै उनले निर्णायक अवस्था आउँदा बहुमतकै सहारा लिनुपर्ने अवस्था रहेको स्पष्ट पारे । संसदीय समिति गठन हुँदा चार ठूला दलबाहेकका साना दललाई पनि कुनै न कुनै समितिमा समावेश गराउन आफूले पहल गर्ने सभामुख महराले बताए ।