काठमाडौंः जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालगायतले हत्या गरेका भनिएका अर्जुनबहादुर लामाको मृत्यु भए/नभएको अझै यकिन गर्न नसकिएको सर्वोच्च अदालतलाई बताएको छ ।

सो कार्यालयका प्रमुख रविकुमार पौडेलले केही दिनअघि सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै अनुसन्धान गर्दै जाँदा लामाको मृत्यु भए/नभएको अझै यकिन गर्न नसकिएको उल्लेख गरेका हुन् ।

लामाकी श्रीमती पूर्णिमायाँले आफ्ना पतिलाई सापकोटालगायतले हत्या गरेको भनी २०६५ साल साउन २७ गते किटानी जाहेरी दिएकी थिइन् । सो जाहेरीमा दिइएको तथ्यअनुसार हालसम्म उचितरुपमा अनुसन्धान नभएको भनी आलोचना भइरहेको छ ।


काभ्रे प्रहरी कार्यालयमा हत्याको आरोप लागेको जाहेरी हुँदाहुँदै सापकोटालाई सभामुख बनाउन लागिएको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । सो रिट निवेदनमाथि भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त जाहेरीमाथि भएको अनुसन्धानको प्रगति विवरण पठाउन आदेश दिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्र मा छ ।


प्रकाशित मितिः बिहीबार, फागुन २९, ०७:३८