भक्तपुरः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएका छन् ।

भक्तपुरको सानो थिमि स्थित जनक शिक्षाको स्थलगत निरिक्षण गर्दै कुनै पनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिनेगरी पुस्तकको प्रकाशन गर्न निर्देशन दिएका हुन् ।

यो बर्ष समयमै विद्यार्थीको हात हातमा पुस्तक नपुगेको गुनासो सुन्न नचाएको उहाँको टिप्पणी छ । ‘कहिँकतै कुनैपनि बाहानामा विद्यालयका विद्यार्थीहरुले नयाँ शैक्षिक सत्र शुरु हुँदा उनीहरुको हातमा किताब नहुने स्थिति नआउने गरी किताब प्रकाशनको जिम्मा लिइरहेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले समयमै विद्यार्थीको हातहातमा उनीहरुको पुस्तक पुगोस् भन्ने आग्रह गर्न चाहान्छु ।


।’

अब नयाँ शैक्षिक सत्र असार देखि सुरु हुने भन्दै मन्त्री श्रेष्ठले कक्षा १ देखि १२ कक्षासम्मको पुस्तक प्रकाशन गर्नको लागि निर्देशन दिएका हुन् ।

निरीक्षणको क्रममा कक्षा ६ को पाठ्यपुस्तक छपाइ नै नभएको देखेपछि यो बर्ष समयमै छपाई गरि शैक्षिक सत्र सुरु अगावै पठाउन उनले निर्देशन दिए ।

त्यसैगरी जनक शिक्षा सामाग्री केन्द्र निर्वाचनको लागि मतपत्र छाप्न पनि तयारी अवस्थामा रहनुपर्ने मन्त्री श्रेष्ठले बताए ।

उनले कर्मचारीहरुलाई जुनसुकै बेला पनि निर्वाचनको मिति घोषणा हुन सक्ने भन्दै मतपत्र छपाइको लागि तयारी अवस्थामा रहन आग्रह गरे ।

उनले सरकार र निर्वाचन आयोगले आदेश दिने बित्तिकै मतपत्र छपाई गर्ने मेसिनलाई तयारी अवस्थामा राख्न निर्देशन दिँदै कुनै पनि बेला जनक शिक्षालाई निर्देशन आउन सक्ने बताए ।

निर्वाचन आयोगमा रहेको मतपत्र छाप्ने मेसिन पनि जनक शिक्षामा ल्याउन पहल गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।

अर्थ मन्त्रालयको समेत ५० प्रतिशत शेयर लागनी रहेको जनक शिक्षामा मन्त्रालयको सम्वन्धीत कुनै पनि छपाईका काम जनक शिक्षावाट नहुनु दुःखद भएको भन्दैै मन्त्रालयसँग समन्वय गरि आन्तरिक राजश्व लगायतका स्टिकर बनाउने काम जनक शिक्षावाट हुनु पर्ने मन्त्री श्रेष्ठले बताए ।


प्रकाशित मितिः २०७७ साल फागुन २५ गते मंगलबार, १८:००