काठमाडौंः विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले विकास र समृद्धिका लागि सम्पूर्ण दलहरु मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

गणेशमान सिंहको स्मृति र गणतन्त्र स्थापनाको अवसरमा गणेशमान सिंह तथा जन–आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा राजधानिको रत्नपार्कमा मंगलबार आयोजित “संविधानको गतिशीलता र राजनीतिक दलको भूमिका” विषयको एक गोष्ठीमा ती नेताले दलहरु आपसमा मिल्दा मुलुकमा गणतन्त्र र नयाँ संविधान ल्याउन सम्भव भएको भन्दै अब मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा पनि मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान जारी भई कार्यान्वयनको चरणमा रहे झै वर्तमान सरकार पनि अग्नि परीक्षामा रहेको बताएका छन् ।


। उनले भने “हामी राजनीतिक स्थिरताको नयाँ ठाउँमा आएका छौँ , तर हाम्रो व्यापार घाटा हेर्दा अवस्था निकै भयावह देखापर्छ । आर्थिक विकास र समृद्धिको नयाँ संघर्ष हामीले जित्नुपर्छ । हामी ‘रिल्याक्स’मा छैनौँ, अग्निपरीक्षामा छौं । यो परीक्षामा हामी सफल हुनुपर्नेछ।”

जुन–जुन बेला कम्युनिष्ट र कांग्रेस मिलेको हुन्छ, त्यो बेला देशले जितेको छ भन्दै प्रचण्डले पहिलो संविधान सभामा हामी मिल्न सकेनौं, देशले दुःख पायो, भूकम्पपछि हामी सबै पार्टी मिल्यौँ र संविधान जारी भयो । गणतन्त्र पनि हामी मिलेका कारण सम्भव भएको हो । राष्ट्रिय मुद्दा र हितमा हामी फेरि पनि नमिली सुखै नभएको बताए ।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान जारी भइसकेको सन्दर्भमा भाषण भन्दा काम गरेर देखाउन वर्तमान सरकारलाई सुझाव दिएका छन् । उनले संघ, प्रदेश र स्थानीय तह सञ्चालनमा दीर्घकालीन रुपमा आर्थिक संकट हुने देखिएकाले उत्पादन र आत्मनिर्भरमा जोडदिनुपर्ने बताए ।

कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले जनतालाई देशमा गणतन्त्र आएको अनुभूति हुने गरी सरकारले काम गर्नुपर्ने बताउँदै समृद्धिको पक्षमा कांग्रेस रहेको र अब जनभावनाअनुसार काम गर्न सक्नुपर्ने धारण व्यक्त गरे ।