नेपाल तारा : ऊर्जा विकास र पर्यटन व्यवसायमा नेपालले पाइला चाले देशको अर्थतन्त्रमा ठूलो फड्को मार्न सक्छ । जलस्रोतको धनी र प्राकृतिक सौन्दर्यको खानी भनेर चिनिने देश नेपालमा आर्थिक क्रान्ति ल्याउन यी दूई क्षेत्रले ठूलो मद्धत पुर्याउँछ । नेपाल वातावरणमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएकाले पर्यटक भित्र्याउन मद्धत गर्छ भने जलस्रोतमा धनी भएकाले ऊर्जा उत्पादनको उत्तिकै सम्भावना रहेको छ ।        

हिमश्रृङ्खला, ताल, हरिया वनजङ्गल, खोलानाला, हिमाल पहाड र तराइको संयुक्त अवस्थिति नेपालको पहिचान हो । चार जात छत्तिस वर्णको साझा फुलबारीको रुपमा चिनिने नेपालमा सबै जातजातीका समुदायको बेग्लाबेग्लै चालचलन र रितिरिवाज रहेका छन् ।


। साथै नेपाल जातिय, साँस्कृतिक , भाषिक, धार्मिक लगायतका विविधताले भरिपूर्ण भएको देश हो । लोकप्रिय र विश्वचर्चित खेलहरु जस्तै बन्जिजम्प,र्याफ्टीङ, प्याराग्लाइडिङ, हात्तिपोलोको लागी नेपाल अति उपयुक्त र सम्भावना बोकेको देश हो ।  यहाँको भौगोलिक बनावट तथा संरचनाले सुनमा सुगन्ध थप्ने काम गरेको छ । सगरमाथाको देश, बुद्ध जन्मेको भुमि, पशुपतिनाथ मन्दिर तथा  ऐतिहासिक संरचनाले भरिपूर्ण देश नेपालमा सबै प्रकारका पर्यटन भित्र्याउने क्षमता रहेको छ ।

अतिथि देवो भवःको भावना रहेका नेपाली मनले विदेशी मनलाई निकै आकर्षित गर्ने गरेको छ । यति मात्र नभइ नेपाली कला, सँस्कृति, रितिरिवाज लगातयका साथै नेपाली जीवनशैली पर्यटकहरुका लागी निकै चाख लाग्ने गर्दछ ।

पर्यटन व्यवसायलाई फस्टाउने वातावरण भएको देश नेपालमा उचित नीति तथा कार्यक्रमको कमि तथा यस क्षेत्रमा भएको देनको भरिपूर्ण फाइदा उठाउन नसक्दा विकासमा छलांग मार्न सकेको छैन । कुनै पनि देश आर्थिक समृद्धि हुनुको पछाडि पर्यटन क्षेत्रको विकासलाई प्रमुख रुपमा लिने गरिन्छ । जहाँ पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता पारिदैंन ती देशहरु समृद्धि पनि हुदैनन्। अहिलेसम्मको इतिहासलाई नियाल्दा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता नदिएका सबै देश विकासमा लम्किन सकेका छैनन् । देशको आर्थिक सम्पन्नताको मुख्य स्रोत भनेको नै पर्यटन क्षेत्रको विकास हो।

दिगो र दीर्घकालीन पर्यटन बिकास गर्न सहर देखि गाउँगाउँ सम्म होमस्टे, ग्रामिण  पर्यटन, स्थानीय प्रविधि र साधनमा प्राथमिकता दिनुपर्छ । विश्व जगतमा नेपाल सुरक्षित, शान्त र सुन्दर देश हो भन्ने सन्देष सम्प्रेषण गर्नुपर्छ । यसका लागि पर्यटन क्षेत्र लक्षित स्वदेशी तथा बिदेशी लगानी र कार्यक्रमहरू भित्र्याउन राज्यले स्पष्ट नीति, योजना र मार्गदर्शन तय गर्नु जरूरी छ । नेपालको विशिष्ट अवस्थिति, छिमेकी देशहरुबाट लिन सकिने फाइदाको सम्भाव्यता, नेपालमा भएका उत्कृष्ट, अतुलनीय र विश्व प्रसिद्द पर्यटकीय सम्पदाहरु, तिर्थस्थलहरू,  धरातलीय, वनस्पतीय, जैविक, सामाजिक, सांस्कृतिक, धार्मिक एवंम् जातिय, जनजातिय विविधताहरु, अनेकतामा एकता लगायतका अन्य थुप्रै साहसिक गतिविधिको प्रचुर सम्भाव्यताका पक्षहरुलाई मध्यनजर गर्दै राज्य र निजी क्षेत्रको तर्फबाट पर्यटनको विकास गर्नुपर्ने हुन्छ । पर्यटन क्षेत्रको विकास र त्यसवाट आर्जित मुद्राले देशको आर्थिक विकासमा टेवा पुर्याउँछ । यसमा प्रतिबद्धता, इमान्दारी र सम्वेदनशीलता प्रदर्शन गरी सबैको तर्फबाट जवाफदेही बन्ने हो भने पर्यटन क्षेत्रले अग्रगामी छलाङ मार्नुका साथै मुलुकको आर्थिक विकासमा उच्च योगदान पुग्ने देखिन्छ ।

हाम्रो देश विकासको मामिलामा पछाडि पर्नुको एउटा ठूलो कारण देशमा विद्युत्को संकट हुनु पनि हो । विगत केही समयदेखि देशको विद्युत् अवस्थामा अप्रत्याशित ढंगले सुधार भइरहेको छ । हालै सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनअनुसार आगामी १२ वर्षपछि नेपाल १३ हजार मेगावाट विद्युत्को निर्यात गर्न सक्नेछ । यस अध्ययनले हाम्रो सरकारलाई पनि यस दिशामा गम्भीर भएर लाग्न प्रेरित गर्नेछ । दृढ इच्छाशक्ति, विकासप्रति प्रतिबद्धता एवं स्पष्ट दृष्टिकोण भएमा यो अध्ययन प्रतिवेदन मूर्तरूप पनि लिन सक्छ ।

नेपाल जलस्रोतको मामिलामा विश्वको दोस्रो ठूलो राष्ट्र हो । जलस्रोतको सदुपयोग गर्न सकियो भने नेपाल आर्थिक मामिलामा धन–कुवेर पनि साबित हुन सक्छ तर यसको निम्ति दृढ इच्छाशक्ति चाहिन्छ । नेपालमा जलस्रोतको विकासको कुरा हुँदा यसलाई राष्ट्रको स्वाभिमानजस्तो संवेदनशील विषयसँग जोडेर तुलना गर्ने गरिन्छ ।

भारतलाई बिजुली निर्यात गर्ने ठाउँको सट्टा उल्टै हामीले आयात गरिराख्नुपर्ने अवस्था छ । भारतसँगको द्विपक्षीय व्यापारमा भइरहेको व्यापारघाटालाई कम गर्नमा पनि ऊर्जाको विकास हुनु आवश्यक छ । हाल भारतबाट आयात भइरहेको बिजुलीका कारण देशलाई लोडसेडिङमुक्त बनाउनमा सफलता मिलेको छ । स्वदेशी ऊर्जा निर्माण कम्पनीहरूको यसमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

नेपालका ६००० भन्दा बढी नदीनालाबाट ८३ हजार मेगावाट भन्दा बढी जलविद्युत् उत्पादन गर्न सकिन्छ । नेपालमा वार्षिक औसत ३०० दिन भन्दा बढी घाम लाग्छ, जसबाट औसत ५ युनिट प्रति वर्गमिटर प्रति दिनका दरले सौर्य ऊर्जा प्राप्त हुन्छ । नेपालका केही स्थानहरूमा वायु ऊर्जाको पनि सम्भावना छ नवीकरणीय जैविक ऊर्जाको पनि प्रचुर सम्भावना छ । अन्य स्रोतहरूको तुलनामा नेपालमा जलविद्युत् विकासको अवस्था केही बलियो र राम्रो छ । नेपालमा जलविद्युत् विकासको शताब्दीभन्दा लामो इतिहासमा सार्वजनिक मात्र होइन निजी क्षेत्रको पनि उल्लेख्य सहभागिता छ ।

ऊर्जा आयात कटौती गरी व्यापार असन्तुलन घटाउँछ, स्थानीय रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउँछ, हरित गृह ग्यासको उत्सर्जनमा पनि कमी ल्याई वातावरण संरक्षणमा मद्दत गर्छ । दिगो ऊर्जाको विकासले विकासको प्रतिफलको न्यायोचित र समावेशी बनाउन सहयोग पुर्याउँछ ।

यसरी देशको विकासमा टेवा पुर्याउने दूई क्षेत्र ऊर्जा र पर्यटन् विकासमा सरकारी स्तरबाट महत्वकांक्षी योजना ल्याउन जरुरी छ । देशको अर्थतन्त्रमा फड्को मार्न सक्ने यी दूई क्षेत्रलाई प्राथमिकतामा राखी सम्वेदनशीलका साथ सरकार अगाडी बढे नेपाली जनताको समृद्ध नेपाल देख्ने सपना अवश्य पूरा हुन्छ ।